पुनर्निर्माण : गलत विवरण दिएर लिएको अनुदान तीन महिनाभित्र फिर्ता गर्नुपर्ने

 असोज १५, २०७५ सोमबार १४:४८:४७ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउने भूकम्प प्रभावितलाई अनुदान रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

गलत विवरण दिएर अनुदान लिएको रकम तीन महिनाभित्र फिर्ता गर्न प्राधिकरणले निर्देशन दिएको हो । सार्वजनिक सूचना जारी गरी प्राधिकरणले झुठा विवरण पेश गरी निजी आवास पुनर्निर्माणमा अनुदान लिएको भए फिर्ता गर्न र तोकिएको समयभित्र फिर्ता नगरे असुल उपर गर्ने जनाएको छ ।

बस्न योग्य अर्को घर भएका भूकम्प प्रभावितले रकम फिर्ता गर्नुपर्नेछ । प्राधिकरणको निर्देशक समितिको बैठकले कुनै एक स्थानको आवास क्षति भएको तर, अर्को स्थानमा बस्न योग्य आवास रहेका व्यक्तिले लिएको अनुदान फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो ।

यस्तै प्राधिकरणले एकभन्दा बढी स्थानबाट अनुदान लिएको भए पनि फिर्ता गर्न भूकम्प प्रभावितलाई आग्रह गरेको छ । रकम फिर्ता गर्न भूकम्प प्रभावितले जिल्लाको आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारमा सम्पर्क गर्नुपर्नेछ ।

यस्तै चालु आर्थिक वर्षभित्रै घर पुनर्निर्माण सक्ने गरी प्राधिकरणले समयसीमा निर्धारण गरेको छ । प्राधिकरणले तोकेको समयसीमा भित्रै घर पुनर्निर्माण गरी अनुदान किस्ता लिन पनि आग्रह गरेको छ ।
गएको असार मसान्तसम्म पहिलो किस्ता लिएका प्रभावितले पुस मसान्त भित्रै दोस्रो र वैशाख मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिनुपर्नेछ । यसैगरी कार्तिक मसान्तभित्र किस्ता लिन बाँकी प्रभावितलाई पहिलो किस्ताको रकम वितरण गरिसक्ने र उनीहरुले माघ मसान्त भित्र दोस्रो र जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया