खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्ने विदेशी खेलाडीको फाइल राेक्का गर्याे, क्लबहरु अन्याेलमा

 असोज १५, २०७५ सोमबार १५:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ ।

श्रम स्वीकृतिका लागि करिब २५ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनुपर्ने भन्दै फइल रोकेको हो ।

तर यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न पाउनेछन् । अहिले संकटा र थ्रीस्टारमा मात्र विदेशी खेलाडी खेलिरहेका छन् । 

यी दुई क्लबले गएको पुसमा नै खेलाडीको श्रम स्वीकृति लिएका थिए ।

अहिले मन्त्रालयमा ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, फ्रेण्डस्, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबका खेलाडीको फाइल रोकिएको छ ।

मच्छिन्द्र क्लब, च्यासल युवा क्लब र सरस्वती क्लबले पनि विदेशी खेलाडीको प्रकृया अघि बढाइरहेका छन् । यता क्लबहरुले भने विदेशी खेलाडी अनुबन्धको प्रकृया अघि बढाउन पहल गरिदिन एन्फालाई आग्रह गरिरहेका छन् । 

विदेशी खेलाडीलाई नखेलाइएमा क्लबहरुमा ठूलो आर्थिक भार पर्ने हुँदा यो विषयलाई चाँडो टुंगो लगाउनु पर्ने क्लबको आग्रह छ ।

क्लबहरुले विदेशी खेलाडीलाई नेपाल बोलाउँदा विभिन्न सुविधा दिने सर्त राखेका हुन्छन् । खाने बस्ने, सरकारलाई तिर्नुपर्ने कर र अन्य प्रकृयागत खर्चसहित उनीहरुलाई घर फर्किने टिकट समेत ब्यहोर्नु पर्दछ । 

तर विदेशी खेलाडीलाई खेल्न नदिने मन्त्रालयको यो कदमले क्लबहरुको लगानी ब्यर्थ हुनेछ । उनीहरु खेल्न नपाउने हो भने पनि यी सबै सर्तहरु क्लबले पालना गर्नु पर्नेछ ।

खेलाडी अनुबन्ध हुन नसकेको खण्डमा पनि क्लबले अध्यागमन विभाग, सेवा शुल्क, खान बस्न, भिषा शुल्क र फर्किने टिकट ब्यहोर्नु पर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया