यान्त्रिक पुलले ६ वर्षमा फिर्ता गर्‍याे लगानी

 असोज १५, २०७५ सोमबार १७:३:५९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – निजीस्तरबाट सञ्चालित कुश्मा बलेवा यान्त्रिक पुलले सञ्चालन भएको ६ वर्षमा शेयर धनीहरुलाई सबै लगानी फिर्ता गरेको छ ।

पर्वतको कुश्मादेखि बागलुङ्गको बलेवा जोड्ने गरी केवुलकार मोडलमा सञ्चालन भएको यान्त्रिक पुलले शेयर धनीलाई एक सय नौ प्रतिशत रकम फिर्ता गरेको हो ।

कालीगण्डकी नदीको दुई सय ६२ मिटर अग्लो खोँचमा निर्माण भएको लिमिटेडले २०६९÷७० देखि अहिलेसम्म विभिन्न चरणमा गरी ६ वर्षको अन्तरमा एक सय नौ प्रतिशत मुनाफा वितरण गरेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामी ६ वर्षमा शेयर सदस्यहरुले जम्मा गरेको रकम बोनसमार्फत फिर्ता गर्न सफल भएका छौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अबको आम्दानीबाट हामी प्रभावकारी सेवासँगै पर्यटकीय आकर्षणका रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।’

‘यस वर्ष लगानीकर्तालाई २२ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्विकृत गरिएको छ’, लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो  । साधारणसभाले बलेवा क्षेत्रमा रहेको कम्पनीको जग्गामा पर्यटकीय पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षदेखि मुनाफाको ५० प्रतिशत लगानी गर्ने प्रस्ताव समेत स्विकृत गरेको छ ।

यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यावसायीदेखि कुश्मा र बलेवा  क्षेत्रका गरी चार सय ६४ जनाबाट कुल चार करोड ८३ लाख रकम शेयर संकलन भएको थियो । २१ फागुन ०६९ बाट औपचारिक रुपमा सञ्चालनमा आएको यान्त्रिक पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्मा बजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सञ्चालक सदस्य तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष  केदारनाथ शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया