परियोजना प्रतिवेदन तयार पारेरै विमानस्थल निर्माणको काम अघि बढाइएको हाे: मन्त्री अधिकारी

 असोज १५, २०७५ सोमबार १७:११:५६ | उज्यालो सहकर्मी

काठमाडाैं - संसदीय समितिले जनचासोको विषयलाई तत्काल सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले वन कटान गर्नेलगायतका विवादित विषयलाई सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको समितीकी सभापति दिलकुमारी रावलले जानकारी दिनु भयो ।

समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम एक वर्ष भित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जा सम्बन्धि व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । पशुपतिनाथ दर्शनमा उठेका भेटिलगायतका सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति रावलले जानकारी दिनु भयो ।

समितिले लुम्विनी क्षेत्र विकास कोषको गुरु योजना तत्काल निर्माण गरी कामलाई अघि बढाउन पनि सरकारलाई निर्देश गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले जनचासाको विषयलाई सम्बोधन गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कम होस् भन्नेमा सरकार सचेत रहेको पनि समितिसमक्ष जानकारी गराउनु भयो ।

मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन तयार पारेरै सो विमानस्थल निर्माणको काम अघि बढाएको दावी पनि गर्नु भयो ।

 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया