प्रदेश २ मा फोरम र केन्द्रमा ढँटुवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिन्छौँ : राजपा महासचिव सुमन

 जेठ २३, २०७५ बुधबार १७:५६:२९ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय जनता पार्टी(रावपा) नेपालका महासचिव तथा प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टीले समर्थन फिर्ता लिने बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजपा नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताउनुभयो । 

उहाँले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौँ, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं।’

नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौँ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै अबसमर्थन जारी नरहने नेता सुमनले स्पष्ट पार्नुभयो ।

नेता सुमनले राजपा संसदमा तेस्रो ठूलो दल र २ नम्बर प्रदेशमा पहिलो शक्ति भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाइपास गरेर मधेशमा गरिने कुनै पनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमति पनि मधेशको हितमा छैन्।’

आफूहरुलाई कुनै पनि किसिमको कम्युनिष्ट अधिनायकवाद स्वीकार्य नहुने उहाँको भनाई थियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठेको उल्लेख गर्दै उनले भने,‘यस्तै हो भने भोलि रिपोर्टर्स क्लब नेपालमा आएर बोल्न पनि नपाउने अवस्था आउन सक्छ, कम्युनिष्ट अधिनायकवादमा प्रेस स्वतन्त्रता भन्ने कुरा हुँदैन्।’

केही समयअघि २५ जना न्यायाधीशहरुले सपथ खाएलगत्तै पार्टी कार्यालयमा पुगेको दृष्टान्त पेश गर्दै आफूहरु कुनै पनि किसिमको अधिनायकवादको पक्षमा नरहेको सुमनले जिकिर गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया