मार्क्सवादबाट विचलित भएकोमा नेता नारायणकाजीको चिन्ता, कम्युनिष्ट नरहने चेतावनी

 असोज १५, २०७५ सोमबार १९:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी मार्क्सवादी सिद्धान्त र चिन्तनबाट विचलित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टी भित्रको वैचारिक र  सांस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्टि जाहेर गर्नुभयो । पछिल्लो समय पार्टीभित्र मार्क्सवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उहाँले समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सीमिति हुने खतरा औल्याउनुभयो ।

सत्तारुढ दलकै शीर्ष नेता श्रेष्ठले सरकार काममाभन्दा अमूर्त नारामा सीमिति भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । मार्क्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’

दैनिक रुपमा दक्ष युवाहरु विदेशिने क्रम बढ्दै गएको भन्दै उहाँले अमूर्त नारा दिएर मात्रै क्रान्ति नहुने बताउनुभयो । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उहाँले राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गरी समाजवाद उन्मुख समृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया