झण्डै ३ सातापछि खुल्यो बेसीशहर–चामे सडक

 असोज १५, २०७५ सोमबार २०:८:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – अवरुद्ध बेसीशहर–चामे सडक खुलेको छ ।

पहिरोको कारण गएको भदौ २७ गतेदेखि नै यस सडकखण्ड अवरुद्ध थियो । लामो प्रयासपछि पहिरो हटाइएसँगै सडक आइतबारबाट सञ्चालनमा आएको हो । 
पहिरोका कारण १९ दिनसम्म यस सडकखण्डमा आउजाउ बन्द भएको थियो ।

खरखरे भीर, खुदी, भुलभुले, सिउरुङबेसी, अर्खलेबेसी, घोप्टे भीर, काप्रे भीर,  रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायतका ठाउँमा पहिरो खस्दा बेसीशहर–चामे सडकखण्ड अवरुद्ध भएको थियो । बेसीशहर–चामे सडकखण्ड झण्डै ६५ किलोमिटर छ । मनाङ पुग्ने यो एकमात्र सडकखण्ड हो ।

विष्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाइयो

सडकखण्डको केही भागमा विष्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाइएको हो । 

पहरो खोपेर पुनः सडक बनाइएको छ । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय, नेपाली सेनाको श्रीजंग गण, नेपाल प्रहरी, विपिसीद्धारा प्रवद्र्धित जलविद्युत आयोजनाका नेपाली र चाइनिज कर्मचारी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा अवरुद्ध सडक खुलाइएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

दोहोरो रुपमै सवारी सञ्चालन

पूर्णरुपमा सडक खुलसँगै अहिले दोहोरो रुपमै सवारी सञ्चालन भइरहेको मनाङमा बसी पत्रकारिता गरिरहनुभएका नेगम परियारले जानकारी दिनुभयो ।     

उहाँका अनुसार सडक खुलेपछि यहाँसम्म आउने पर्यटकको संख्या बढ्दै गएको छ । चहलपहल बढ्दै गएको छ । गाडी चलेसँगै स्थानीयसँगै पर्यटकहरुलाई आउजाउमा सहज भएको छ । खाद्यान्न, तरकारी जस्ता दैनिक उपभोग्य वस्तु यहाँसम्म ल्याउन पनि सहज भएको छ ।      

पर्यटकको आगमन बढ्दै

बाटो खुलसंगै तुलनात्मक रुपमा पर्यटक आगमन संख्या बढेको र व्यापारी– व्यावसायीहरु उत्साहित भएको उहाँले बताउनुभयो । 

‘लामा सयमसम्म बाटो बन्द भयो । व्यापारी–व्यावसायी निराश भएका थिए । आइतबारबाट बाटो खुल्यो । मानिसको चहलपहल पनि बढेको छ । व्यावसायीहरु उत्साहित देखिएका छन्,’ उहाँले थप्नुभयो ।

बाटो बन्द हुँदा सवारी आवतजावत हुँदा सामान ल्याउन समस्या भएको चामेमा किराना तथा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएका जीवन श्रेष्ठले बताउनुभयो । बाटो खुलेसँगै सामान ल्याउन सजिलो भएकोमा उहाँ खुशी हुनुहन्छ ।

‘बाटो खुल्यो । सामान ल्याउन पनि केही सहज भयो । मानिसको चहलपहल पनि बढेको छ । व्यापार पनि राम्रो हुने आशा छ । हामी उत्साहित छौँ,’ उहाँले भन्नुभयो ।     
 

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया