अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा जेठानीको हत्या, देवरानीसहित दुईजना पक्राउ

 असोज १६, २०७५ मंगलबार ७:२७:३३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो ।

आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्चल अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर मृत्यु भएको देखाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
अनुसन्धानको क्रममा प्रहरीले सञ्जुको हत्या आरोपमा उनकी देवरानी २४ वर्षकी बिकाकुमारी मण्डल र स्थानीय २७ वर्षका लालबाबु मण्डललाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले अनुसन्धानको क्रममा बिकाकुमारी र लालबाबुबीच अनैतिक सम्बन्ध रहेको अञ्जुले थाहा पाएपछि उनीहरु दुवैजना मिलेर हत्या गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरुको सम्बन्धबारे अञ्जुले थाहा पाएपछि बाहिर सार्वजनिक गर्छन् कि भन्ने आशंकामा उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका बिकाकुमारी र लालबाबुले सञ्जुको हत्या गरेको प्रहरीमा बयान दिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बिकाकुमारी र लालबाबुले घटनामा प्रयोग गरेको ग्लोब्ससमेत फेला परेको र दुवैजनामाथि थप अनुसन्धान भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया