दसैँमा यात्रु बोक्ने बसले पालो कुर्नु नपर्ने

 असोज १६, २०७५ मंगलबार ७:५८:५२ | उज्यालो सहकर्मी

काठमाडौं – दसैँमा यात्रु बोक्ने बसले अब पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर देशैभर पालो निमय हटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभाग, यातायात व्यवसायी र प्रहरीबीचको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरिएपछि छुट्न दिने सहमति गरेको हो । पहिलेजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दशैँको चापलाई लक्षित गरी पालो नबस्नुपर्ने व्यवस्था गरिएको हो ।

यस्तै यात्रुलाई टिकट काट्न सहज बनाउन टिकट काउन्टरमै रुटअनुसार भाडादरको सूची राख्न थालिएको छ । यात्रु टिकट काट्ने क्रममा ठगिने भएकाले काउन्टरमै रुटअनुसारको भाडादरको सूची राख्न थालिएको हो ।

यसैगरी धादिङको नौबिसेमा गाडी बिग्रिएर हुने जाम हटाउन ठूला क्रेन ल्याइने भएको छ । अहिले बिग्रेका गाडीलाई तत्कालै हटाउन झ्याप्लेखोला र नागढुंगामा दुई वटा गाडी तान्ने मेशिन अर्थात र्‍याकर राखिएको छ । यस्तै ठूला मालवाहक ट्रक विग्रिएमा हुने लामो जाम तत्कालै हटाउन सडक विभागले नौबिसेमा क्रेन राख्ने यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँमा ठूला मालवाहक गाडीलाई पनि निश्चित समयमा मात्रै चल्न दिइने भएको छ । दसैँमा घर जाने यात्रुको चाप बढ्ने भएकाले जाम सहज पार्न ठूला मालवाहक गाडीलाई निश्चित समय तोकेर मात्रै चल्न दिइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया