बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालयमा तोडफोड

 असोज १६, २०७५ मंगलबार १३:३९:२४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सरकारी कार्यालय बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले जिल्ला सरकारी वकीलको कार्यालयमा तोडफोड गरेका छन् ।

बन्द अवज्ञा गरेको भन्दै नेविसंघ कञ्चनपुरका कार्यक्रताले जिल्ला सरकारी वकीलको कार्यालयमा तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेका छन् । 
प्रदर्शनकारीले बन्दको बेला कार्यालय खोलेर काम गरेको भन्दै आफूहरुमाथि कुटपिट गरेको डाटा इन्ट्रीअपरेटर मञ्जु भट्टले बताउनुभयो । उहाँले झण्डै साढे १ बजेको समयमा एकदर्जनको संख्यामा प्रदर्शनकारीले कार्यालयको हातामा प्रवेश गरी तोडफोड तथा कर्मचारीमाथि कुटपिट गरेको बताउनुभयो ।

प्रदर्शनकारीको कुटपिटबाट कार्यालयमा कार्यरत चारजना घाइते भएका छन् । यसरी घाइते हुनेमा नायव सुब्बा कृष्णदत्त भट्ट, कार्यालय सहयोगी धनवीर सिंह भाट, चालक यज्ञराज जोशी र डाटा इन्ट्री अपरेटर मञ्जु भट्ट रहेका छन् । 

नेविसंघका कार्यकर्ताले सरकारी वकीलको कार्यालयमा रहेको बा २ झ २७५ नम्बरको गाडी, झ्याल, ढोका तथा कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तोडफोड गरेका छन् । बन्दको नाममा आन्दोलनकारीहरुले पटक–पटक कार्यालयमा तोडफोड गरेको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले बताउनुभयो । 

‘म एउटा मुद्दाको छिनोफानो गर्न अदालत गएको थिए’, न्यायाधिवक्ता भट्टले भन्नुभयो, ‘त्यहीबेला प्रदर्शनकारीहरुले कार्यालयभित्रै पसेर कर्मचारीमाथि कुटपिट गर्दै सरसामान तोडफोड गरेका छन् ।’

उहाँले यस्ता अराजक घटना पटक–पटक दोहोरिएकाले स्थानीय प्रशासनसँग शान्ति सुरक्षाको माग गर्दै यस्तो गतिविधिमा संलग्नलाई कारबाहिका लागि जिल्ला प्रहरीमा पत्र पठाएको बताउनुभयो । 

बन्दको नाममा सरकारी कार्यालयभित्रै पसेर कर्मचारीमाथि कुटपिट गर्नु सामान्य कुरा होइन्’, भट्टले भन्नुभयो, ‘त्यसलाई व्यक्तिको पहिचान गरी क्षतिपूर्तिसहित तिनीहरुमाथि कारबाहीका लागि प्रहरीमा पत्र पठाउँदैछौं ।’

यसअघि पनि गएको भदौ ८ गते आन्दोलनकारीले सरकारी वकीलको कार्यालयमा तोडफोड गर्नुका साथै गाडीमा समेत तोडफोड गरेका थिए । निर्मलाको बलात्कारपछि हत्या भएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेविसंघले मंगलबार कञ्चनपुर बन्दको आह्वान गरेको थियो ।

बन्दका कारण बिहानैबाट सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था तथा बजार व्यवसाय बन्द छ ।

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस् 

 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया