७७ लागे भजन शिरोमणि भक्तराज

 असोज १६, २०७५ मंगलबार १४:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – असोज १६ गते भजन शिरोमणि भक्तराज आचार्यको जन्मदिन परेको छ ।

बिक्रम सम्बत १९९९ साल असोज १६ गते जन्मेका भक्तराज आचार्य आजदेखि ७७ वर्षमा प्रवेश गरेका छन् । भक्तराज गायकका साथै संगीतकार पनि हुन् । अन्य गीतको तुलनामा भजन बढी गाएका उनले भजन शिरोमणिको उपाधि पनि पाएका छन् ।

मुटु जलिरहेछ, जति चोट दिन्छौँ, हजार सपना, माया मेरी साँझ बनी, जीवन भन्नु त, यहाँ जिन्दगीलेलगायत सयौँ गीतहरुमा आवाज दिएका भक्तराज आचार्यले संगीत क्षेत्रमा ठूलो योगदान दिएका छन् ।

आफ्नो १६ वर्षे सांगीतिक करिअरमा उनले झण्डै ५ सय गीतमा आवाज दिइसकेका छन् । यदि उनले जीवनमा बाँकी रहेका अन्य दिनहरुमा पनि गीत गाउने अवसर पाएका भए उनका गीतको सङ्ख्या यतिमा मात्रै सीमित हुने थिएनन् .

स्वर्ण पदकदेखि छिन्नलता पुरस्कार

भक्तराजले विक्रम सम्बत २०३० सालमा काठमाडौंमा  भएको अधिराज्य व्यापी राष्ट्रिय गीत प्रतियोगितामा स्वर्ण पदक हात पारे । उनले त्यस बखत गाएको होसियार बोलको गीत मार्फत गीतका रचनाकार तथा संगीतकार अमर गुरुङले पनि स्वर्ण पदक पाएका थिए ।

संगीतमा योगदान पुर्याएका कारण उनी गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, इमेज लाइफ टाइम अवार्डलगायत दर्जनौँ अवार्डले सम्मानित भइसकेका छन् ।

२०४६ सालको त्यो  कालो दिन

भक्तराज आचार्यको जीवनमा एउटा यस्तो घटना घट्यो जसको उनले कल्पना पनि गरेका थिएनन् ।

विक्रम सम्बत २०४६ सालमा उनीमाथि सांघातिक हमला भयो । जसले उनको आवाज नै छिन्यो । त्यो घटनापछि उनको गायन यात्रामा पूर्णबिराम नै लाग्यो ।

विक्रम सम्बत २०४६ सालको मंसिर १९ गते उनको जीवनको कालो दिन बन्यो । त्यो दिन उनीमाथि काठमाडौंको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट’ मा सांघातिक आक्रमण भयो । आक्रमणका कारण उनको टाउकोमा मात्रै सय जति टाँका लगाइएको थियो ।

आक्रमणमा परेर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर उनको १२ दिनसम्म अप्रेसन हुन सकेन् । कवि र गीतकार राममणि रिसालले अति नै अनुनय गरेपछि बल्ल डाक्टर उपेन्द्र देवकोटाले उनको अप्रेसन गरेका थिए ।

उक्त अप्रेसनपछि उनी निको त भए तर जिब्रोमा अचानक सेतो दाग देखियो जसले उनलाई क्यान्सरको रोगी बनाइसकेको थियो ।

अन्तत २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा क्यान्सरग्रस्त उनको जिब्रो काटियो । त्यसको ६ वर्षपछि कनकमणि दीक्षित र जर्मनीका लागि तत्कालीन नेपाली राजदूत नोबल किशोर राईको पहलमा जर्मनीमा उनको जिब्रो प्रत्यारोपण गरियो ।

उनको जिब्रो प्रत्यारोपण त भयो तर उही पुरानो लय, सुर र तालमा गायक बनेर उनी फर्कन सकेनन् । भक्तराज अहिले त्यही प्रत्यारोपण गरिएको जिब्रोको कारण दोहोरो कुराकानी गर्छन् ।

संगीतमा निरन्तर काम गर्न नपाए पनि उनले नेपाली संगीत क्षेत्रलाई सत्य–स्वरूपजस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन् । सत्य स्वरुप निरन्तर रुपमा संगीतमा अघि बढेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया