उपभाेक्ताकाे स्वास्थ्यमाथि संगम स्वीट्सकाे खेलवाड : मिठाईमा भेटियाे कपडामा प्रयोग हुने केमिकल

 असोज १६, २०७५ मंगलबार १६:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौैको मिलन चोकमा रहेको संगम स्वीट्सले कपडामा प्रयोग हुने केमिकल मिलाएर मिठाई बनाउने गरेको भेटिएको छ ।  

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दा यस्तो भेटिएको हो । 

कपडामा प्रयोग हुने केमिकल मिलाएर मिठाई बनाउने गरेको भेटिएपछि संगम स्वीट्सको गोदाम घरमा विभागले शिलबन्दी गरेको छ । विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा गएको उपभोक्ता अधिकारकर्मी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सहितको टोलीले अनुगमनपछि गोदाम घरमा सिलबन्दी गरेको हो । 

अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित हाइड्रो ए वान भन्ने केमिकल मिठाईमा प्रयोग गरेको पाइएको अनुसन्धान अधिकृत सुवेदीले बताउनुभयो । मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको पनि उहाँले बताउनु भयो । त्यो केमिकल खाद्य वस्तुमा प्रयोग गर्न प्रतिबन्धित छ । 

त्यस्तै मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको अनुगमनका क्रममा भेटिएको छ । त्यो पाउडर उत्पादन भएको मितिले ४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने भएपनि सन २०११ मा बनेको पाउडर अहिलेसम्म पनि प्रयोग गरेको पाइएपछि नष्ट गरी उत्पादनमा प्रतिबन्ध लगाइएको छ । 

नयाँ बानेश्वरमा रहेको संगम स्वीट्सको उत्पादन बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि गोदाम घरमा सिलबन्दी र होटलमा बिक्री वितरणमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताउनुभयो । 

मिठाई बनाउन प्रयोग हुने घ्यु र तेलमा पोलारिटीको मात्र अत्याधिक पाइएको छ । पोलारिटीको मात्रा अधिकतम २५ सम्म हुनुपर्नेमा ३८.५ सम्म पाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिनुभयो । 

त्यस्तै मैदा लगायत अन्य खाद्यवस्तुमा उत्पादन मिति उल्लेख नभएको, सरसफाइमा वास्ता नगरिएको पाइएको अनुगमन टोलीले बताएको छ । झापाका संगम शर्माले सञ्चालन गरेको संगम स्वीट्सलाई खाद्य प्रविधि ऐन अनुसार कारबाही हुने र मुद्धासमेत चलाउन सकिने विभागले जनाएको छ । उनलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको सुवेदीको भनाई छ ।  

तस्बिर - रासस 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया