गौरवका आयोजना रातो किताबबाट हटेपछि ताप्लेजुङका नागरिक चिन्तित

 असोज १६, २०७५ मंगलबार १६:२०:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालित गौरवका आयोजनाका रूपमा रहेका मुख्य ठूला आयोजनाहरुलाई नेपाल सरकारले रातो किताबबाट हटाएपछि अहिले ती आयोजनाहरु नबन्ने हुन् कि भन्ने चिन्ता उब्जेको छ ।

चीन र भारतलाई जोड्ने नेपालकै छोटो मार्गका रुपमा रहेको तमोर करिडोर आयोजना समेत केन्द्रीय बजेटमा नपरी रातो किताबबाट हटेपछि ताप्लेजुङको विकास निर्माणमा धक्का पुगेको स्थानीयवासीको भनाई छ ।

भारतको सीमाना मोरङको रानी भन्सारबाट चीनको सीमाना ताप्लेजुङको तिप्ताला भञ्जाङ २ सय ८९ किलोमिटरमा जोडिन्छ तर यो आयोजना समेत रातो किताबबाट हटाइएको छ ।  

उत्तर–दक्षिण ओलाङचुङगोला आयोजना कार्यालयका अनुसार करिडोर विराटनगर रानीभन्सारदेखि धरान ५० किलोमिटर, धरानदेखि धनकुटाको मुलघाट ३२ किलोमिटर, मुलघाटदेखि पाचँथरको माझिटार ७५ किलोमिटर, माझिटारदेखि ताप्लेजुङको दोभान ३५ किलोमिटर र दोभानदेखि चीनको सीमाना टिप्ताला भञ्जायाङ ९७ किलोमिटर रहेको छ । 

तर त्यो आयोजना नै रातो किताबाट हटेर बजेट नआएपछि अन्योलमा परेको छ । त्यो करिडोर ताप्लेजुङको आठराई त्रीबेणीको फूलबारी रमिते छेउसम्म पुगेको छ । तर, यसवर्ष रकम नआएपछि ठेक्केदार कम्पनीहरु फिर्ता गएका छन् । अब झण्डै १२ किलोमिटर मात्र ट्रयाक खोल्न गर्न बाँकी रहेको छ ।
उता, अर्को मेची र कोशी राजमार्ग जोड्ने मदन भण्डारी राजमार्ग ट्रयाकले जोडिए पनि नियमित यातायात सञ्चालनका लागि कठिन छ । सडक राम्रो भए अब दोभानको तमोर नदीमाथिको पुल निर्माणसँगै यी सडक चल्ने छन् ।

पुल सञ्चालनमा आइसकेको छ । तर सडक जोडिए पनि यसवर्ष बजेट नआउने भएपछि सवारी साधन चल्ने अवस्था नरहेको बताइन्छ । अर्को गौरबको आयोजना फुङलिङबाट ओलाङचुङगोला हुँदै तिब्बत जोड्ने उत्तरदक्षिण लोकमार्ग आयोजनामा पनि रातो किताबबाट हटाएपछि अन्योलता छाएको छ ।

ताप्लेजुङको सुकेटारदेखि चीनको सीमाना टिप्ताला भन्ञ्जायाङसम्मको योजना अहिले अलपत्र छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका लेलेप र तापेथोकको सीमाना रानी पुलसम्म पुगेको सडकको ट्रयाक ओपन कार्य अहिले बन्द भएको छ ।

स्थानीयवासीले ओलाङचुङगोला बजारदेखि चीनको सीमानासम्म २२ किलोमिटर सडक आफै निर्माण गरेका छन् । त्यो सडक गएको वर्ष बहुवर्षीय ठेक्कामा लगाइएको र विस्तारको काम फत्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीमा पुगेको छ ।

झण्डै ३७ करोडको लागतमा भइरहेको विस्तार कार्य समेत लेलेप पुगेर ठप्प छ । यता, ओलाङचुङगोला जोड्न लेलेपदेखि ३५ किलोमिटर रहेको छ । केन्द्रबाट प्रदेश सरकार हुँदै आएको बजेटमा सबैभन्दा बढी रकम सुकेटारदेखि पाथीभरा जोड्ने सडकमा देखिएको छ । 

त्यो पनि २ करोड ५३ लाख । यति रकमले दुई किलोमिटर सडक पनि कालोपत्रे गर्न हम्मे पर्ने ठेक्कापट्टाको काम गरिरहेका ठेकेदारहरू बताउँछन् । चाँगे–ढुङगे साँघु हुँदै गुफा–वसन्तपुर मदनभण्डारी राजमार्गका लागि २ करोड छुट्याइएको छ ।

उत्तर दक्षिण लोकमार्ग, तमोर करिडोर, मदनभण्डारी राजमार्ग र पाथीभरा सडकको नारा दिएर राजनीतिक दलका उम्मेदवारले स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट मागेका थिए । चुनावमा उम्मेदवारले यी सडक यसै आर्थिक वर्षदेखि कालोपत्रे गर्ने नारा लगाएका थिए ।

केन्द्रीय कार्यक्रमबाट योजना काटिएपछि सदरमुकाम फुङलिङमा रहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाको कार्यालय नै उठ्ने वा बस्ने दोधार रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया