आईजीपी बनाउँछु भन्दै खरेलसँग कसले माग्यो २० लाख ?

 असोज १६, २०७५ मंगलबार १६:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २०५३ फागुन १५ मा मोतिलाल बोहोराको पदावधि सकिँदै थियो । 

अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान भावी आईजीपीका दाबेदार थिए । खरेललाई आईजीपी बन्नका लागि २० लाख रुपैयाँ तयार पार्ने सुझाव आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली व्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल  दुविधामा परे ।

आईजीपी बन्न २० लाख मागेपछि खरेलले के गरे त ? के उनले त्यो प्रस्ताव स्वीकारे ?

पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली व्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएका छन् । 

अच्युतकृष्ण फुटबलका सोखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे । उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक ।

आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुस्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे । डाँका पक्रन सीमा पार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक–पटक झुत्ती खेले । लागुपदार्थ दुव्र्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ ।

करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् । 

पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ । विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ ।

प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डीबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडीसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ । त्यस प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो । सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले विस्तार लगाएका छन् ।

२०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुविधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ ।

यतिमात्र होइन, प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा गरेका छन्, खरेलले ।

उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझ्याल पनि हो उनको आत्मकथा । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे । 

प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्वलगायत परिवर्तनका धेरै लहर उनले सामना गरे । माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् ।

प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आईजीपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर बिदा भएका थिए ।

अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीस घन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था छर्लङ्ग पार्छ । 

एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् । 

‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन’, खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आम नागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’

प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक काइदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्नभिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाई छ ।

पब्लिकेसन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई त्यो कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ । यो आत्मकथा त्यसैको निरन्तरता हो ।

इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाई नै हो । मान्छेको व्यक्तिगत भोगाईमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ । खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनःस्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुखकार्यकारी सैजन मास्के बताउँछिन् ।

पुस्तक आउँदो शनिबार (असोज २०गते) सार्वजनिक हुँदैछ । त्यसै दिनदेखि पुस्तक अमेजोनको पीओडी (प्रिन्ट अन डिमाण्ड) मार्फत संसारभर उपलब्ध हुनेछ ।

पातलो गाता पुस्तक को मूल्य ६६५ रुपैयाँ र मोटो गाता पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ ।
 

अन्तिम अपडेट: असोज २७, २०७५

3 Comments

  • chandra gautam

    Oct. 3, 2018, 7 p.m.

    सेवा निवृत्त भएर पनि ७० बर्षको उमेर कटिसकेपछिको अवस्थामा पुर्व उच्च पदस्थ पदाधिकारिले लेख्ने आत्मकथाहरु देस र जनताको लागि अत्यन्तै महत्वपुर्ण हुन्छन भन्ने मलाई लाग्छ ।कारण यो अवस्थामा अब वहांहरुले कुनै पद तथा बिशेष सुविधा प्राप्त गर्ने लोभ बांकि रहेको हुन्न , त्यसैले आफ्ना गल्ति तथा कमजोरिहरुलाई शत प्रतिशत उजागर नगरेको हुने भएता पनि आस र त्रासबाट भने मुक्त भएर नै लेखिएको हुन्छ जस्तो लाग्छ ।

  • Krishnaman Shrestha

    Oct. 3, 2018, 5:38 a.m.

    Congratulations

  • shyamrajrai

    Oct. 2, 2018, 5:19 p.m.

    सबैले आफ्नो आफ्नो आत्मा कथामा बितेका घटित घटनाका बारेमा भरपुर उजागर गर्ने प्रयास गर्दो हो।उ बेला आफै मुख दर्सक बनिएको ज्वलन्त उदाहरण प्रस्तुत गरिरहन लाज मान्दैनन।समयमा हीरा फोर्दैन,प्रयस्चीत बखन गर्नु सिबाय।लाग्छ यो सबै मर्ने बेलामा "हरियो "काक्रो" बेलैमा बुद्धि भ्रास्ट भए पछी।जय देश जय जन्ता।

तपाईको प्रतिक्रिया