स्ट्रिकल्याण्ड बनिन् ५५ वर्षपछि भौतिकशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला

 असोज १६, २०७५ मंगलबार १७:१९:४५ | एजेन्सी
unn.prixa.net

अमेरिका, क्यानडा र फ्रान्सका वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । 

‘लेजर फिजिक्स’मा उनीहरुले योगदान गरेको भन्दै तीनजनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो । विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गर्ने ‘द स्वीडिस रोयल एकेडेमी’ले मंगलबार तीनजनालाई विजेता घोषणा गरेको छ । उनीहरुले संयुक्त रुपमा दश लाख अमेरिकी डलर र मेडल पाउनेछन् । 

दश लाखमध्ये अमेरिकाका वैज्ञानिक आर्थर आश्किनले आधा र फ्रान्सका जेराल्ड मौरोउ र क्यानडाका स्ट्रिकल्याण्डलाई आधा पुरस्कार दिइने छ । एकेडेमीका अनुसार वैज्ञानिक आश्किनले ‘अप्टिकल ट्वीजर’को विकास गरेको आधारमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

 

स्ट्रिकल्याण्ड र मौरिउले लेजर प्रविधिमा विकास गरेको आधारमा उनीहरुलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । आश्किन नाबेल पुरस्कार पाउने अहिलेसम्मकै वृद्ध व्यक्ति हुन्  । उनी ९६ वर्षका भएका छन् ।

स्ट्रिकल्याण्ड ५५ वर्षपछि नोबेल पुरस्कार प्राप्त गर्ने महिला वैज्ञानिक बनेकी छिन् । आफू नोबेल पुरस्कारमा छनोट भएकोमा उनले खुशी व्यक्त गरेकी छिन् । सन् १९०३ मा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी  थिइन् । नोबेल पुरस्कार पाउने उनी पहिलो महिला हुन् ।

रेडियसन पत्ता लगाएको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि सन् १९६३ मा मारिया जियोपेर्ट मेयरलाई आणविक संरचनाको विकास गरेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । नोबेल पुरस्कार पाउने उनी दोस्रो महिला वैज्ञानिक थिइन् । 

स्ट्रिकल्याण्ड भौतिकशास्त्रतर्फ नाबेल पुरस्कार पाउने तेस्रो महिला वैज्ञानिक हुन् ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया