उत्तर कोरियासँग ६० वटा आणविक हतियार

 असोज १७, २०७५ बुधबार ६:२३:३२ | रासस
unn.prixa.net

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले यस्ताे जानकारी दिएका हुन् ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताए । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । 

मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ । 

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको एक प्रतिवेदन अनुसार, उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ । 

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले अरु पनि गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनहरुमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया