चीन सरकारको सहयोगमा बन्ने खानेपानी आयोजनाको अध्ययन सुरु

 असोज १७, २०७५ बुधबार ७:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चीनको केन्द्रीय सरकार अन्तर्गत रहेकोे ‘चाइना कन्सल्टेण्ट कन्स्ट्रक्सन कम्पनी’ले भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चिनियाँ सरकारसँग काठमाडौं उपत्यकामा चारवटा ड्याम बनाउने चाइना सरकारसँगको सम्झौता अनुसार नै सम्भाव्यता अध्ययन सुरु भएको हो । 

प्रतिनिधि सभाका सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतको पहलमा भक्तपुरमा खानेपानीको दुईवटा ड्याम बनाई काठमाडौं उपत्यका भित्र खानेपानी वितरण गर्ने योजनासहित चिनियाँ कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले दुई ठाउँको अध्ययन सुरु गरेको हो ।
 
अध्ययनका क्रममा प्रतिनिधिसभा सदस्य बस्नेतको नेतृत्वमा चिनियाँ प्राविधिक टोलीसहितले हिजो मंगलबार साँझ सूर्यविनायक १० चित्तपोल तथा काभ्रेको साँगा जोड्नेबीचको भाग र चागुनारायण नगरपालिका मुहान पोखरीको स्थलगत अध्ययन गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन  भ्रमणमा चिनियाँ सरकारसँग काठमाडौं उपत्यकामा चारवटा ड्याम बनाउने चाइना सरकारसँगको सम्झौता अनुसार नै सम्भाव्यता अध्ययन सुरु भएको प्रतिनिधिसभा सदस्य बस्नेतले जानकारी दिनुभयो । 

चीन सरकारको निर्देशन अनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि भक्तपुर आएको बताउँदै उहाँले भक्तपुरमा दुईवटा ड्याम निर्माणसंगै पानी संकलन गरि शुद्धिकरण विधी अपनाएर भक्तपुरसँगै उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको बताउनुभयो । यी दुई स्थानमा ड्याम बनाई पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई पुग्ने र ७० प्रतिशत पानी काठमाडौं पठाउन सकिने बस्नेतको दाबी छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनको आधारमा चिनियाँ कम्पनीले अध्ययन सुरु गरेको हो । 

ड्याम निर्माणका लागि चीन सरकारले नेपाल सरकारलाई दुई प्रतिशत ब्याजमा  सहुलियत ऋण प्रदान गर्ने सहमति प्रधानमन्त्रीको भ्रमण कै क्रममा भएअनुसार नै ड्याम बनाउन अध्ययन सुरु गरेको बस्नेतले बताउनुभयो ।

बस्नेतले भन्नुभयो –“मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यो पानी वितरण गर्न सक्छौँ, बढी भएको पानीलाई हामी काठमाडौं पठाउँन सक्छौँ ।” उपत्यकाका लागि खोनपानीको सहज र राम्रो विकल्प अघि सारेर भक्तपुरमा ड्याम बनाउन अध्ययन सुरु गरेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो– “भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोँचमा ड्याम बनाई आशापुरीको पानी ल्याउने र संकलन गरेर शुद्धिकरण गरी खानेपानी वितरण गर्ने योजना छ, साथै त्यस क्षेत्रमा डुङ्गा चलाएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक उपार्जन पनि गर्ने र शुद्धिकरण गरि आएको पानीलाई सिंचाईको रुपमा प्रयोगमा ल्याउने गरी योजना अगाडि बढाएका छौँ ।”
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया