‘सडकछेउमा काम गर्न देउ, नत्र छोराछोरी भोकभोकै मर्छन्’

 असोज १७, २०७५ बुधबार ८:१२:२१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं –  काठमाडौंको भूगोलपार्क छेउमा भोजपुरका दिपु गुरुङ्ग अमला बेचिरहनुभएको थियो । अचानक पुगेका नगरप्रहरीले उहाँको अमलाको डालोलाई लात्तीले हाने । अमला सडक पेटीभरी पोखियो । त्यसपछि अमला बेचिरहेका दिपु कराउन थाल्नुभयो, ‘मलाई मात्र के हटाउँछस्, सक्छस् भने पारि बसेकाहरुलाई पनि हटाएर देखा न ।’

प्रहरी केही पनि नबोलेर सडकको पारितिर गए । त्यहाँको सडक छेउका व्यापारीलाई पनि यहाँ नबस्नु भन्दै बसन्तपुरतिर लागे । दिपु पेटीमा छरिएको अमला  बटुल्न थाल्नुभयो । त्यहाँबाट कोही पनि हटेनन् । 

आखिर एकजनाको सामानमा मात्र प्रहरीको रीस किन ? दिपुले भन्नुभयो, ‘यिनीहरुलाई (प्रहरीलाई) पैसा दिनुपर्छ होला नि । म त दुईतीन दिन मात्र भयो यहाँ बस्न लागेको, मैले कसैलाई पनि पैसा दिएको छैन ।’

रामेछापकी सविता नेपाली रत्नपार्क छेउछाउका सडक पेटीमा डालोमा कागती र सरिफा बेच्नुहुन्थ्यो । एक हप्ताअघि उहाँको कागतीले भरिएको डालो नै नगरप्रहरीले उठाएर लगेपछि अचेल त्यसरी नै सडक पेटीमा बसेर बच्चाको कपडा बेच्न थाल्नुभएको छ ।

 

अमला र कागतीको डालो गहु्रँगो हुने र नगर प्रहरी आउँदा उठाएर भाग्न नसकिने भएकाले कपडा बेच्न थालेको उहाँले बताउनुभयो । ‘कमाई गरी खाने बाटो भनेको यही हो । यही पनि डर मानी मानी गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यहीँनेर बसेका अरुलाई केही पनि गरेन मेरो डालो मात्र उठाएर गाडीमा हालेर लग्यो ।’

सडक पेटीमा व्यवसाय गर्न नपाइने भनेर महानगरपालिकाले भने पनि आम्दानीको अन्य कुनै बाटो नदेखेपछि सडकपेटीमा सामान बेच्नुपरेको व्यवसायीको गुनासो छ । ‘सरकारले न त रोजगारी दिन्छ, न त गरिखान नै दिन्छ । छोराछोरीलाई कसरी पढाउने हामीले ? उनीहरु भोकभोकै मर्छन्’ सविता नेपालीले गुनासो पोख्नुभयो ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रमा फुटपाथ व्यापार गर्नेको संख्या करिब ३ हजार  जति छ । सडकपेटीमा यसरी सामान राखेर व्यापार गर्दा पैदलयात्रुलाई समस्या हुन्छ भन्दै काठमाडौं महानगरपालिकाले फुटपाथमा सामान बेच्न पाईंदैन भनेर पटकपटक सचेत गर्दै आएको छ ।

तर यसरी व्यवसाय गरेर गुजारा गरिरहेकाहरुलाई हटाएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे भने कुनै ठोस कदम चालिएको छैन । महानगरपालिकाले प्रहरी परिचालन गरेर हटाउने प्रयास गरेपनि प्रभावकारीे भएको देखिंदैन । तर प्रहरीको त्रासले साना व्यवसायीहरु ठूलो मर्कामा पर्ने गरेका छन् ।

के भन्छन् सरोकारवाला ?

निर्माण व्यवसायी संघले सडकमा व्यवसाय गरेर कमाई गर्नेहरुको पक्षमा आवाज उठाउँदै आएको छ । निर्माण व्यवसायी संघको घटक युनियन नेपाल स्वरोजगार श्रमिक संघका अध्यक्ष कुमार सापकोटाले भन्नुभयो ‘व्यवसायीलाई सडकबाट हटाएपछि तिनीहरुको व्यवस्थापन गरिनुपर्छ । विश्वका सम्पन्न देशहरुमा पनि सडकमा व्यवसाय गर्न दिइएको हुन्छ ।’

सापकोटाले थप्नुभयो, ‘फुटपाथमा बसेर व्यवसाय गर्नु कसैको रहर होइन र गरिबको बाध्यतालाई बुझेर सरकारले उनीहरुलाई उचित ठाउँको व्यवस्था गरिदिनुपर्छ ।’

महानगरपालिका प्रहरी परिचालन प्रमुख विष्णु जोशी भने काठमाडौंका साँघुरा सडकपेटी भएका ठाउँमा फुटपाथ व्यवसाय गर्न उपयुक्त नभएको बताउनुहुन्छ । ‘गरिखानेलाई हामीले रोक्नैपर्ने बाध्यता छ । पार्किङको लागि ठाउँ नभएको बेला उनीहरुलाई व्यवस्थापनको लागि ठाउँ पर्याप्त छैन’ जोशीले भन्नुभयो । 
 
एक वर्षअघि नेपाल स्वरोजगार संघको पाँचौं अधिवेशनमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला ठाउँमा बसेर आर्थिक उपार्जन गर्ने बाध्यता आफूले बुझेको बताउनुभएको थियो । र त्यसको व्यवस्थापनको लागि ‘सर्प पनि नमर्ने र लाठी पनि नभाँचिने’ विकल्प खोज्नुपर्नेे बताउनुभएको थियो । 
तर एक वर्ष बितिसक्दासम्म पनि सडक छेउमा बसेर कमाई गर्नेहरुले दिनहुँ प्रहरीको त्रास सहेर व्यापार गर्नुपरेको छ । 

स्वरोजगार संघको प्रदेश नंबर ३ का अध्यक्ष रामहरि नेपाल भन्नुहुन्छ, ‘स्वरोजगार संघ, ट्राफिक तथा महानगरीय प्रहरीको संयोजत्वमा चाँडै कार्यविधि तय गर्नुपर्ने देखिएको छ ।’ 
 

अन्तिम अपडेट: चैत २३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • kumar Gajmer

    Oct. 3, 2018, 12:51 p.m.

    त्यो डालो र डोको लाई लात्ती बर्साउनु अगी एकपल्ट सोच्नु प्रहरी दाजुभाई उनिहरूले बेलुकी कसरी छाक टार्छन्।सडक मा व्यापार गर्नु कसैको रहर होइन न की कसैलाई दुःख दिने नियत नै।यो त पिरीस्थिती र सरकार को कमजोर व्यवस्थापनको उपज हो।

  •  0 Reply
  • Arjun Budha

    Oct. 3, 2018, 11:08 a.m.

    नेपाल सरकारले नीति त धेरै बनाउँछ तर किन गरिवलाई धेरै दु:ख दिन्छन/ यस्तो काम गर्न किन रोक लगाउँछ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया