कफी दिवसको उपहार : कफी ब्लक

 असोज १७, २०७५ बुधबार १७:२०:४० | जनार्दन घिमिरे

गुल्मी – अन्तर्राष्ट्रिय कफी दिवसको अवसरमा कफी अनुसन्धान कार्यक्रम गुल्मीले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कफी दिवस मनाएको छ ।  

गुल्मीको रुरु गाउँपालिका –४, अन्तर्गत भण्डारी डाँडामा स्थापना भएको त्यस अनुसन्धान कार्यक्रमले जिल्लाका सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई कफी खेती र अनुसन्धान कार्यक्रमको अवलोकनसमेत गराएको छ । 

अनुसन्धान कार्यक्रमले कफी दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ गुल्मी कफी ब्लक र गुल्मी उद्योग वाणिज्य संघ कफी ब्लकको समेत स्थापना गरेको छ । उक्तं दुवै ब्लकहरुमा संस्थाका प्रतिनिधिहरुद्वारा कफीको बिरुवा रोपण गरिएको थियो । 

गएको चार वर्षअघि सरकारले भण्डारीडाँडामा देशकै पहिलो अनुसन्धान केन्द्र स्थापना गरेपछि जिल्लामा त्यस अनुसन्धान केन्द्रले कफी खेतीको क्षेत्रमा अनुसन्धानको काम गर्दै आएको छ ।  कफी अनुसन्धान केन्द्रले अहिलेसम्म गुल्मीमा २९ प्रकारका कफीका नयाँ जात विकास, नर्सरी स्थापना र बोटहरुको व्यवस्थापन, स्वस्था र गुणस्तरका कफीका बेर्ना उत्पादनलगायतका क्षेत्रमा काम गर्दै आएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । 

एक सय रोपनी क्षेत्रफलमा पैmलिएको भण्डारीडाँडामा अहिले एक हजारभन्दा बढी बोटहरुमा कफी फल्न सुरु गरेपछि कफी खेती हेर्नका लागि अनुसन्धान केन्द्रमा मानिसहरुको आकर्षण पनि विस्तारै बढ्न थालेको छ । केन्द्रले १० जातका बीउबाट सुरु गरेको अनुसन्धानलाई अहिले २९ प्रकारका बोटमा विकास गरेको छ । रोपेको तीन वर्षमै एउटै बोटले ५ हजारसम्म दान दिने गरी लटरम्मै कफी फल्न थालेको छ । 

जिल्लाका १२ स्थानीय तहमध्ये रुरु, छत्रकोट, गुल्मी दरबार, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा किसानहरुले व्यावसायिक कफी खेती गर्दै आइरहेका छन् । गुल्मीमा ९३ वडामध्ये ४५ वडामा २ हजार जति व्यावसायिक कफी किसानहरु रहेका छन् ।

जिल्लामा १सय ४० हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको छ । जसबाट गुल्मीमा हाल वार्षिक ८० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । जैविक मलको प्रयोगबाट उत्पादन हुँदै आएको उक्त अर्गानिक कफी हाल जापान, कोरिया, अस्ट्रेलिया लगायतका देशहरुमा निर्यात हुँदै आइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया