राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख घिमिरे भने भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याइन्छ

 असोज १७, २०७५ बुधबार १७:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कडा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने चेतावनी दिनु भएको हो । बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी भ्रष्टाचारको मुद्दामा आयोगले गम्भीर अनुसन्धान गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले वाइडबडी विमान खरिदका सम्बन्धमा आयोगले छानबिन सुरु गरेको पनि समितिलाई जानकारी गराउनुभयो । प्रमुख आयुक्त घिमिरेले संविधानको दायराभित्र रहेर भ्रष्टाचारको छानबिन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ । प्रमुख आयुक्त घिमिरेले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराउनु भएको हो । उहाँले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले आयोगको काम कारबाही पारदर्शी र इमान्दार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कारबाही नगरेको भनि प्रश्न गर्नु भएको थियो ।

समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गर्नुभयो । उहाँले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न नसकेको दाबी पनि गर्नुभयो ।

समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया