पहिलो पटक देख्नासाथ मलाई रिंकु मन पर्यो : यमन श्रेष्ठ

 असोज १७, २०७५ बुधबार १८:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कलाकार यमन श्रेष्ठ वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । लामो समयको अमेरिका बसाइपछि उनी नेपाल फर्किएर कलाक्षेत्रमै रमिरहेका छन् । 

केही समयअघि टेलिचलचित्र खासखुसमा लेखन तथा अभिनय गर्दै आएका थिए तर खासखुस यति बेला बन्द छ । उनी कला क्षेत्रबाट टाढा हुननसक्ने बताउँदै  अर्को टेलिचलचित्रको तयारीमा लागेका छन् । 

उनीद्वारा अभिनित चलचित्र छक्का पञ्जा ३ पनि प्रदर्शनको तयारीमा छ । चलचित्र घटस्थापनाका दिनबाट अल नेपाल प्रदर्शनमा आउँदै छ । 

प्रस्तुत छ उनै कलाकार यमन श्रेष्ठसँग गरिएको भलाकुसारी :

भर्खरै बाबाको अप्रेसन सफल भएको छ, कस्तो महसुस भइरहेको छ ?

हामी एउटा परीक्षामा पास भएका छौं । ठूलो शल्यक्रिया सफल भएको छ । एकदमै खुशी छु ।

झन् बाबा अहिले त पहिलेभन्दा तगडा हुनु भएको छ । पहिला बसेको ठाउँबाट उठ्न निकै गारो मान्नुहुन्थ्यो । अहिले त जुरुक्क उठेर हिँड्ने,आफ्नो काम आफंै गर्ने गर्नुहुन्छ ।

नेपालमै यति ठूलो शल्यक्रिया सफल भएको छ, तर सुरुमा विदेश नै लानुपर्छ भन्ने लागेन ?

नेपालको स्वास्थ्य क्षेत्र पहिले जस्तो छैन । नेपालमै ठूला डाक्टरहरु छन् । हामीले वहाँहरुलाई विश्वास गर्न नसक्नु हाम्रै कमजोरी हो । 

तपार्इं गीत लेख्ने र गुनगुनाउने पनि गर्नुहुन्छ । तपार्इंले अमेरिकामा बोलको गीत कसरी लेख्नुभयो ?पृष्ठभूमि बताइदिनुस् न । 

अमेरिका एकदमै व्यस्त शहर हो । त्यहाँ कसैलाई कसैको मतलब हुन्न । बिहान, दिउँसो, राति जतिबेलै पनि कामभन्दा केहि हँुदैन । त्यसै परिवेशलाई मध्यनजर गर्दै मैल त्यो गीत लेखेको हुँ ।

तपाईं लामो समय अमेरिकामै बसेर अहिले भने नफर्कने गरि नै नेपाल आउनु भयो । श्रीमतीलाई कसरी मनाउनु भयो?

हामी नेपाल फर्कनुको मुख्य कारण भनेको आमा बिरामी हुनु पनि हो, नेपालबाट बाबाले फोन गरेर तँलाई आमा ठूलो कि अमेरिका ठूलो भनेर प्रश्न गर्नुभयो । त्यो प्रश्नले मलाई मनमा धेरै पीडा दियो र अन्तत मैले उनलाई पनि ममीको स्वास्थ्यका विषयमा कुरा गरें र उनी पनि नेपाल फर्कन राजी भइन् ।
खासखुस बन्द हुनुको कारण चाहि के हो ?

त्यहि समयमा मेरो ममी बिरामी हुनु भयो र मैले समय दिन सकिनँ । केदार घिमिरे दार्इं पनि आफ्नै काममा व्यस्त हुनुभयो । 

त्यो सँगै बाबा बिरामी हुनुभयो । त्यसैले मैले राम्रोसँग समय दिन पाएको थिइन । तर अब फेरि पनि म कलाकारितामा नै सक्रिय हुनेछु । खासखुस नभए पनि अन्य कुनै टेलिचलचित्रका साथमा चाँडै आउने सोच बनाएको छु ।

खासमा तपार्इं मदनकृष्ण श्रेष्ठको छोरा कि कलाकार यमन श्रेष्ठ ?

म दुवैले आफूलाई चिनाउने गर्छु तर पनि कलाकार भन्दा पहिला म मदनकृष्ण कै छोरा हो, अनि बल्ल कलाकार हो । वहाँले मलाई जन्म नदिनु भएको भए म कसरी कलाकार भनेर आफूलाई चिनाउन सक्थें र ? 

तपाई र रिंकु जीको भेट कहाँ भएको हो ?

हाम्रो भेट अमेरिकामै भएको हो । एउटा कार्यक्रमको आयोजना भएको थियो र म त्यो कार्यक्रमको संयोजक थिएँ । त्यो कार्यक्रममा उनी पनि गीत गाउन आएकी थिइन् । पहिलो पटक देख्नेबित्तिकै मलाई उनी मन पर्यो । 

उनले गीत गाइसकेपछि आएर मलाइ नै मैले गाएको गीत कस्तो भयो भनेर सोधिन् । मैले गीतमाभन्दा उनमा मात्र ध्यान दिएको थिएँ । उनले कस्तो गीत गाइन् मलई थाहा नै भएन । त्यही पनि धेरै राम्रो थियो भनेर प्रतिक्रिया दिएँ ।

प्रोपोज चाहिँ कसरी गर्नुभयो ?

हाहाहा (हाँस्दै) पहिलो भेटपछि म उनका हरेक क्रियाकलाप नियालिरहन्थेँ । उनीसँग नजिकिने कोसिस गरिरहन्थेँ । बिस्तारै उनीसँग नजिक पनि भएँ । कहिले काही गएर भन्दिन्छु जस्तो लाग्थ्यो । 

फेरी अस्वीकार गर्छिन् कि भनेर डर लाग्थ्यो । पछि उनी पनि म प्रति आकर्षित भएको महसुस गर्न थालँे । एक दिन आँट गरेर भनिदिएँ । नभन्दै उनले पनि स्वीकार गरिन् ।

अहिले आएर त्यो समयमा ठूलो गल्ति गरेछु भन्ने त लागेको छैन ?

हाहाहा (हाँस्दै), त्यस्तो छैन । एक अर्कालाई पाएर हामी दुवै जना खुशी छाैँ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया