बिजुलीको बिल नतिर्ने ४२  जना ग्राहक कालो सूचीमा

 असोज १७, २०७५ बुधबार १८:२५:५३ | उज्यालो सहकर्मी

रसुवा,– रसुवामा विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा परेका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार कालो सूचीमा पर्नेमा छवटा सरकारी कार्यालय छन् । 

चारवटा निजी फर्म र ३२ जना व्यक्तिलाई समेत कालो सूचीमा राखिएको बताइएको छ । देश संघीयतामा जानुपूर्व रहेका साविकका गाविसले महसुल नतिरेका केन्द्र प्रमुख कृष्णहरि दाहालले बताउनुभयो ।

‘तत्कालीन समयमा विद्युत महसुल नतिरेका गाविस कालो सूचीमा छन्, उनले भने, त्यो महसुल स्थानीय तहले चुक्ता गर्नुपर्छ ।’ कालो सूचीमा पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका उनले बताए । ४२ ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपयाँ उठाउनुपर्ने छ । 

गएको वर्ष विद्युत महसुल नतिर्ने २ सय ३४ ग्राहकको लाइन काटिएको थियो । यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । गएको वर्ष ९१ लाख २३ हजार रुपयाँ उठाउन बाँकी थियो । आर्थिक वर्ष २०७४÷७५ को पहिलो दुई महिनामा १६ लाख ३२ हजार बक्यौता उठेको छ । 

प्राधिकरणले अब ७४ लाख ८१ हजार उठाउन बाँकी छ । दुई महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको अस्थायी रूपमा लाइन काटिने गरेको छ । लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाएमा ग्राहकलाई कालो सूचीमा राख्ने गरिएको छ । 

गएको वर्ष २ सय २० वटा लाइन जोडिएको केन्द्रले जनाएको छ । एक वर्षमा पाँचवटा ट्रान्सफर्मर जलेको छ । केही स्थानमा विद्युत चुहावट भइरहेको छ । मासिक रूपमा ९.०५ प्रतिशत विद्युत चुहावट भइरहेको भए पनि नियन्त्रण गर्न नसकिएको बताइएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया