गुराँसे टि स्टेटमा मजदुर आन्दोलन : एक पक्षले ताला लगाउने, अर्कोले खोल्ने

 असोज १७, २०७५ बुधबार १९:२८:३६ | सन्ताेष रुचाल

धनकुटा – हिलेमा रहेको गुराँसे टि स्टेटमा एक पक्षका मजदुरहरुले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन् । 

उद्योगले ज्यालादारी मजदुरलाई एक पक्षीय ढंगले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले बुधबार लगाएको ताला

उद्योगमा मासिक तलबमा काम गर्ने मजदुरले आफूहरुसँग कुनै सल्लाह नगरी तालाबन्दी गरिएको भन्दै तोडेका हुन् । 

उद्योगभित्र रहेका मजदुरले ताला तोडेका हुन् । ताला तोडेपछि उनीहरुले काम सुरु हुने बताएका छन् । ज्यालादारी मजदुरले काम गरे अनुसारको ज्याला पाइसकेको र आफूहरुले केही महिनादेखि तलब नपाएको र दसैँमा सबै रोकिएको तलब पाउने आशामा काम गरिरहेकोले काम कुनै हालतमा नरोक्ने उद्योगमा मासिक तलबमा काम गरिरहेका आशिष राउतले बताउनुभयो । 

मासिक तलबमा काम गर्ने मजदुरले राजनीतिक आरोप प्रत्यारोपबाट प्रभावित भएर ताला लगाइएको आरोप समेत लगाएका छन् । 

यता अखिल नेपाल चिया मजदुर संघ इकाई अध्यक्ष निर्मला तामाङले सरकारले दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको भए पनि २ सय ५३ रुपैयाँ दिएर कामबाट निकालेको र पटक–पटक पुनर्बहालीको माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो । यस्तै अखिल नेपाल चिया मजदुर संघ जिल्ला अध्यक्ष नारायण तामाङले मजदुरको पुनर्बहाली र गएको साउन ३१ बाट लागू भएको श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने मजदुरहरुले बताएका छन् । 

यता गुराँसे टि स्टेट प्रालिका व्यवस्थापक नवीन कार्कीले सबैको सहमतिमा गएको भदौ ६ र ७ मा काम गरिएको तलब निकाशा गरी ठेक्का प्रणालीमा काम सुरु गरिएको र त्यसको केही दिनपछि मजदुरले आन्दोलन सुरु गरेको प्रतिक्रिया दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया