भोजपुरमा इष्टर्न जलविद्युतको शेयर स्थानीयका लागि खुल्ला

 असोज १८, २०७५ बिहिबार १०:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर –निर्माणाधीन इष्टर्न जलविधुत्त (५ मेघावाट) आयोजनाको शेयर (आईटिए) स्थानीयका लागि खुल्ला हुने भएको छ । आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि शेयर खुल्ला गरिने भएको हो ।

प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारीहरु र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख) सम्म शेयर किन्न पाउने व्यवस्था गरिएको हाइड्रोपावरले जनाएको छ । हाइड्रोपावरको कुल एक अर्व १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रहरुमा कुल ६ करोड २० लाखको शेयर खुल्ला गर्ने आयोजना अधिकृत दिपेन राईले जानकारी दिए । उनले भने, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशतमा शेयरमा उनीहरु हकदार रहने व्यवस्था छ ।’

अहिलेकाे लागि स्थानीयको हकमा १० प्रतिशत शेयर खुलाइए पनि आगामी मंसिरबाट जिल्लाभर नै शेयर खुलाइने जनाइएको छ । जिल्लामा आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरि शेयर खुलाउने व्यवस्था गरिएको यो पहिलोपटक हो । कानुनी रुपमा वैधता रहने गरि भोजपुर जिल्लाको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताका लागि शेयर खुलाइएको हो ।

विविध प्राविधिक कारणबस झण्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविद्युत आयोजनाको काम अहिले ९० प्रतिशत भौतिक संरचना र ६५ प्रतिशतभन्दा बढी मेकानिकल काम सम्पन्न भएको छ । कुल १ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पिपिए अनुसार ०७६ असार मशान्तसम्म सकिने सम्झौता भएपनि चालु आर्थिकवर्ष ०७५÷७६ को मंसिर÷पौष महिनातिर सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख एवम् इन्जिनियर रोशन साहले बताउनुभयो ।

०६२ सालमा तात्कालिन समयका लागि नेपाल विद्युत प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलव ५ मेघावाट क्षमताको विद्युत उत्पादन हुने गरि सम्झौता अनुरुप आयोजनाको सर्भे गरिएको थियो । ०६७ सालबाट रोकिएको आयोजनाको निर्माण कार्य पछि ०७२ साल अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेघावाट पु¥याइएपछि कामको थालनी गरिएको थियो । 
  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया