कर निर्धारणका लागि शनिबारदेखि वडास्तरीय छलफल हुने

 असोज १८, २०७५ बिहिबार १२:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा– कालिका गाउँपालिकाले शनिबारदेखि करको विषयमा वडास्तरमा छलफल गर्ने भएको छ । गाउँपालिकाले उठाउने करको विषयमा विवाद उत्पन्न भएपछि वडास्तरमा छलफल गरेर नयाँ कर निर्धारण गर्न लागिएको हो । 

पहिलो चरणमा गाउँपालिकाको पाँचवटै वडामा गएर विवादरहित, जनमुखी र वैज्ञानिक किसिमको कर निर्धारण गरिने उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनुभयो । 

‘हामी वडास्तरमा गएर जनतासँग छलफल गर्छौ, उहाँले भन्नुभयो, जनताको चाहाना अनुसार कर निर्धारण गरेर गाउँ कार्यपालिकामा पेस गर्छौ ।’ गाउँ कार्यपालिकामा पेस भएपछि अर्को गाउँसभाबाट नयाँ कर पारित हुन्छ । 

यसअघि गाउँपालिकाले दुई जनासँग सम्पति कर लिएको थियो । गत आर्थिक वर्षमा एक जनासँग लिएको कर र नयाँ आर्थिक वर्षपछि अर्कोसँग लिएको करमा दर फरक परेपछि विवाद आएको थियो । विवाद आएपछि गाउँपालिकाले कुनै पनि कर नलिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।  

‘हामीले कर नउठाए पनि जनताको काम रोकिन दिएका छैनौँ, उहाँले भन्नुभयो, नयाँ कर निर्धारण नहुँदासम्म हामी कर लिदैनौँ ।’ जनताले तिर्न सक्ने गरी कर निर्धारण गर्ने उहाँको भनाइ छ । शनिबारबाट छलफल हुने गरी कार्यतालिका निर्धारण गरिएको छ । 

अन्य गाउँपालिकाको तुलनामा यहाँका जनाताले थोरै कर तिरे पुग्ने गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्षसहित पाँच जना वडाध्यक्ष रहेका छन् । 

जिल्लामा रहेको पाँचवटा स्थानीय तहमध्ये अन्य चारवटा स्थानीय तहले उठाएको करको अध्ययन गर्ने, जनतासँग छलफल गर्ने र समितिको बैठक बसेर वैज्ञानिक तरिकाले कर निर्धारण गर्ने उहाँले बताउनुभयो ।  


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया