क्षतिपूर्ति बापतको पैसा पीडितको हातमा पुगेन

 असोज १८, २०७५ बिहिबार १३:१३:४२ | शुभनारायण यादव

सप्तरी – कतारमा ज्यान गुमाएका बौवालाल सदाका परिवारको नाममा आएको क्षतिपूर्ति बापतको ४५ लाख रुपैयाँ गायव भएको छ ।

क्षतिपूर्ति बापत आएको ४५ लाख रुपैयाँ पत्नी डोली सदाको नाममा निकासा भइसकेको छ । आफ्नै नाममा निकासा भएको रकम नपाएपछि डोली सदा जिल्ला प्रशासन धाउन थाल्नुभएको छ । 

सिडिओले निकासा गरेको रकम हातमा परेन 

२०७२ सालमा डोलीका पति बौवालाल कतार जानुभएको थियो । कतार पुगेको केही दिनमै उहाँको मृत्यु भएको खबर आयो । कसरी मृत्यु भयो भन्ने कुरा पत्नी डोली सदा जान्नुहुन्न । कमाउन गएका पति बितेपछि डोली सदाको जिन्दगी नै ऋणमा डुब्यो । 

विदेशमा निधन भएकाले ४५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने डोलीले सुन्नुभयो । ‘पैसा पाउनका लागि मैले राजविराजदेखि काठमाडौं पनि धाएँ, कतिपटक त, पैसा आएछ तर

मैले पाएको छैन,’ डोलीले गुनासो गर्नुभयो । 

क्षतिपूर्ती बापतको ४५ लाख रुपैयाँ परराष्ट्र मन्त्रालय मार्फत् उहाँको नाममा आयो । परराष्ट्र मन्त्रालयले पैसा जिल्ला प्रशासन कार्यालयलाई रकम बितरण गर्ने जिम्मा दिँदैं कार्यालयकै खातामा रकम पठाइयो । 

प्रशासनले ४५ लाख रुपैयाँ बराबरको रकम डोलीलाई प्रदान गरेको छ । २०७४ मंसिर ३ गते डोलीले औठाछाप लगाएरै चेक बुझेको देखिएको प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

खाताबाट निकासा पनि भइसकेको छ । रकम झिकिएको पाइए पनि डोलीले पाउनुभएको छैन । केही दिनमै रकम हातमा आउँछ भनेर सहयोगीले भनेको डोली बताउनुहुन्छ ।

रकम आउने आशमा डोलीले लामै समय बिताउनुभयो । तर पैसा नपाएपछि उहाँ फेरि प्रशासन कार्यालय धाउन थाल्नुभएको छ । रकम आएको तर नबुझेको भन्दै पीडित डोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई जानकारी गराइसक्नुभएको छ ।

 ‘बुझिसकेको रकम नपाएको सुन्दा आश्चर्य लाग्यो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘यसबारेमा बुझ्दा रकम समेत निकासा भइसकेको रहेछ ।’
प्रजिअ पौडेलले रकम निकासा भए पनि डोलीले पाएको जस्तो नदेखिएको पनि बताउनुभयो  । उहाँले रकम पाएको जस्तो देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘यसबारे अनुसन्धान भइरहेको छ । 

डोलीकै नाममा खाता खोलाएर रकम जम्मा गरी उहाँलाई प्रयोग गरेर रकम गायव भएको हुनसक्ने उहाँको अनुमान छ ।

खाताबाट चार पटक रकम झिकियो

चेक बुझेको मात्र होइन, चार पटक गरेर ४५ लाख रुपैयाँ खाता बाट निकालिएको छ । क्षतिपूर्ती बापतको रकम आएपछि डोलीले राजविराजमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट पाएको चेक त्यही खातामा जम्मा गर्नुभयो । जम्मा गरेको पैसा नझिकेको डोलीको दावी छ । डोलीकै हस्ताक्षरमा रकम झिकिएको देखिएको छ । 

चेक प्राप्त गर्ने बेलादेखि झिक्ने बेलासम्म डोलीकै हस्ताक्षर देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताउनुभयो । 

उहाँका अनुसार वाणिज्य बैंकको राजविराज र कठौना शाखाबाट चार पटकमा सबै रकम झिकिएको छ । यस विषयमा सुक्ष्म अनुसन्धान थालिएको बताउँदै एसपी विष्टले केही व्यक्तिलाई टार्गेटमा राखी अनुसन्धानलाई तीव्र पारिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया