नेकपासम्वद्ध दुवै अनेरास्ववियूले मागे प्रहरी महानिरीक्षक खनालको राजीनामा

 असोज १८, २०७५ बिहिबार १३:१६:५० | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । 

निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दवाव पनि दिएका छन् । 

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो । उहाँले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै गृह प्रशासनको पनि चर्को आलोचना गर्नुभयो ।

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले जनतालाई मारमा पार्ने गरी यातायातको साधनमा बढाइएको भाडा तत्काल फिर्ता लिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले महंगी नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन पनि गृहमन्त्री थापासँग माग गर्नुभयो ।

यता, गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताउने भयो । उहाँले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्ने प्रतिवद्धता पनि दोहो¥याउनु भयो । गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा निर्मला पन्त हत्याकाण्डको छानबिनको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नुभयो ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले गृहमन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ । त्यसैगरी जनजीविकाको पक्षमा राहत प्याकेज कार्यक्रम घोषणा गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया