भक्तपुर दुर्घटना : फरार टिप्पर चालक पक्राउ, दमकल तोडफोड हुँदा १० लाखको क्षति

 असोज १८, २०७५ बिहिबार १८:३६:२६ | उज्यालो सहकर्मी

भक्तपुर – टिप्परले मोटरसाइकललाई ठक्कर दिएर मृत्यु भएको घटनामा आक्रोशित भिडले जलाएको टिप्परको आगो निभाउन गएको दमकल तोडफोड गर्दा १० लाखको क्षति भएको छ । 

जुद्ध वारुण यन्त्र भक्तपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वारुण यन्त्रका सूचना अधिकारी विजय धौभडेलले बुधबार साँझ सूर्यविनायकको पाण्डुबजारमा भएको दुर्घटनामा आगो निभाउन गएको दमकलमाथि भिडले आक्रमण गरेको थियो । 

आक्रमणबाट दमकलको अगाडिको सिसामा पूर्ण रुपमा क्षति पुगेको छ भने दमकलको वरिपरिका सबै भागमा ढुङ्गा र घरेलु हतियारले हानेर प्वाल नै प्वाल बनाइदिइएका छन् । 

सूचना अधिकारी धौभडेलले भन्नुभयो, ‘एसपीको फोन आउनेबित्तिकै पौने सात बजे आगो निभाउन जादा पाण्डु बजारमा आक्रोशित भिडले दमकललाई वरिपरि घेरेर आक्रमण गरे, ढुङ्गामुढा गरे, हाम्रै गाडीभित्र रहेका बञ्चरो, हम्बरहरु निकालेर हान्न थाले । दमकलका ८ जना कर्मचारी पनि घाइते भए ।’

दमकलजस्तो अत्यावश्यक साधनमा तोडफोड गर्ने र आक्रमण गरेर घाइते बनाउनेको पहिचान गरी कारबाही गर्न उहाँले प्रशासनसँग माग गर्नुभयो । त्यसैगरी दमकलका कर्मचारीले उपचार समेत नपाउने अवस्था आएको भन्दै सरकारले जीवन बीमा र उपचारको व्यवस्था गरिदिन माग गर्नुभयो । 

जुद्ध वारुण यन्त्रका प्रमुख लक्ष्मण गुरागार्इंले अब तत्काल दुई ठाउँमा आगलागी भएको खण्डमा दमकल जान सक्ने अवस्थामा नभएको बताउँदै दमकल मर्मत गर्ने बजेट समेत नभएकाले समस्या आएको बताउनुभयो । मध्यपुर थिमि नगरपालिकाले हस्तान्तरण गरेको यो दमकल तोडफोडपछि मर्मत नगरी सञ्चालनमा आउने अवस्था छैन । 

आक्रमणमा जुद्ध वारुण यन्त्रका सूचना अधिकारी विजय धौभडेल, फायरमेनहरु मंजय धौभडेल, राहुल नेपाल, उमेश ढकाल, रामचरण भुजु, गोपाल थापा, सवारी चालक राजकुमार श्रेष्ठ र राजकुमार गिरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । घाइतेहरु उपचारपछि काममा फर्किसकेका छन् । 

काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले बुधबार साँझ बा.८८प.८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएपछि सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको थियो । 

आक्रोशित भिडले टिप्पर जलाएपछि प्रहरी र भिडबीच ढुङ्गा हानाहान हुँदा प्रहरी १० जना घाइते भएको, स्थानीय घाइतेको तथ्याङ्ग नआएको र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हिमालयन कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

ठक्कर दिएर फरार भएका टिप्पर चालक धादिङ्ग सिद्धलेख गाउँपालिका –४, घर भई हाल चन्द्रागिरी नगरपालिकाको नैकापमा बस्दै आएका ५० वर्षीय वेदबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका राना मगरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताउँदै ढुङ्गा हानेको अभियोगमा २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको  श्रेष्ठले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया