नारायणगढ-मुग्लिन सडकखण्ड:  सडक बन्याे, पुल बनेन

 असोज १८, २०७५ बिहिबार १९:१६:१६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको निर्माणको काम पूरा भएकाे छ । 

सडक निर्माणको काम सकिए पनि पुल निर्माणको काम समयमा हुन नसक्दा समस्या यथावत रहेको छ । फराकिला सडकमा साँघुरा पुल रहेकाले जोखिम कायम रहेको छ । 

आयोजनाका सूचना अधिकारी शिव खनालले दिनुभएको जानकारी अनुसार कालोपत्रे गरिएको सडकमा कतै–कतै सडक लेन छुट्याउन थोरै स्थानमा कलर गर्ने काम बाहेक ९९ प्रतिशत काम सकिएको छ । 

नारायणगढ मुग्लिन सडकखण्डमा १८ वटा नयाँ पुल बन्ने भए पनि अहिले चारवटा पुल मात्र बनाउने काम भइरहेको छ । 

सडकखण्डमा पर्ने पुलहरु बिग्रँदै गएका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । 

पुलको चौडाई २ दशमलव ५ मिटर भएपनि भारतबाट सामान लिएर आउने ठूला ट्रक ३ दशमलव ७ मिटर चौडाइ सम्मको हुने भएकाले पुलका रेलिङ्ग भाँचिने गरेको बताउँदै इन्जिनियर खनालले सडक सहज भएपनि पुलको यात्रा जोखिम भएकाले सवारी चालक सचेत हुनुपर्ने बताउनुभयो ।

सडक फराकिलो भएका कारण चालकले सवारी तीव्र गतिमा चलाउने गरेको बताउँदै खनालले पुल पुरानै अवस्थामा रहेकाले दुर्घटना बढ्न सक्ने भएकाले आयोजनाले सचेतता अपनाउँदै आएको बताउनुभयो ।

सडकको चौडाइभन्दा पुलको चौडाई आधा भएकाले तीव्रगतिमा आएका सवारी साधानलाई पुल आएको संकेत गराउनका लागि सबै पुलका छेउमा रम्बल स्टिम राखिएको खनालले बताउनुभयो । 

पुल नजिकै राखिएको रम्बल स्टिममा सवारी गुड्दा सचेत हुने त्यसले पुल आएको संकेत गर्ने भएकोले सवारी चालक सचेत हुने उहाँले बताउनुभयो । 

सडकखण्डमा अहिले पुल रहेकै स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको हो । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जिर्ण रहेका कारण सवै पुल नयाँ बनाउन लागिएको आयोजनाले बताएको छ ।
 
सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई नै पुल निर्माणको जिम्मा दिइएको छ । नारायणगढ मुग्लिन सडकखण्डमा ४ वटा पुल निर्माणका लागि दुइवटा कम्पनी लामा कन्स्ट्रक्सन र रौताहा निर्माणले जिम्मा पाएको छ । 

निर्माण भइरहेका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलबिरे रहेका छन् । 

सडकखण्डमा ६ मिटर मात्र चौडा रहेको पुललाई ११ मिटर चौडा बनाइने  गरिने खनालले बताउनुभयो । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको निर्माणको २८ प्रतिशत काम सकिएको खनालले बताउनुभयो । 

बन्ने पुलको दुवैैपट्टि छेउमा १ दशमलब ५ मिटरका दरले फुटपाथ रहने छ । पुराना पुलहरुलाई मर्मत गरी आवत जावत गर्न मिल्ने अवस्थामा राखिने छ । बीचको भागबाट दुइवटा गाडी एक पटक आवतजावत गर्न सक्ने छन् । 

नारायणगढदेखि मुिग्लनसम्म सवारी यात्रा गर्दा साविक ७० मिनेट लाग्दै आएको यो सडक पुनः निर्माण पछि ४० मिटमा पार गर्न सकिने भएको छ । 
नारायणगढको आँपटारीदेखि मुग्लिनसम्मको दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ वैशाखबाट यो सडक विस्तारको काम थालिएको थियो ।

एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । गुणस्तरीय सडक निर्माण गर्ने उद्देश्यले यो सडक विस्तार थालिएको थियो ।

वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो । अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया