मेरो गीतले रकस्टार बनेका शाहरुख, अहिले लुंगी डान्समा झरे: अभिजित भट्टचार्य

 असोज १९, २०७५ शुक्रबार १३:३४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

गायक अभिजित भट्टचार्य आजभोलि उनको गीतहरुको भन्दा उनले दिने बयानहरुका कारण चर्चामा आउने गर्छन् । 

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानसँगको मनमुटावका कारण खानका लागि गीत गाउन बन्द गरेका अभिजितले एक पटक फेरि तिनै शाहरुख खानको बारेमा दिएको बयान यतिबेला चर्चाको विषय बनेको छ । 

अभिजितले एक कार्यक्रममा शाहरुख खानको खिल्ली उडाउँदै भने, ‘मैले मेरो आवाजका माध्यमबाट कैयौंलाई सुपरस्टार बनाएको छु । जहिलेसम्म मैले शाहरुखका लागि गीत गाउँथेँ, तबसम्म उनी रकस्टार थिए । तर जब मैले उनका लागि गीत गाउन बन्द गरँे, त्यस पछि उनी लुङ्गी डान्समा झरे ।’

उनले अगाडि भने, ‘शाहरुखका लागि मैले गीत नगाउनुमा सानो कारण छ । शाहरुखले फिल्म ‘मे हुँ ना’ मा स्पट बोयदेखि फिल्ममा काम गर्ने सबै जनालाई क्रेडिट दिए तर गायकलाई सम्मान दिएनन् । फिल्म ‘ओम शान्ति ओम’ मा पनि यही गरे । यस फिल्ममा रहेको ‘धुम ताना’ बोलको गीतमा मेरो आवाज थियो तर यसमा पनि मलाई कुनै मतलब गरिएन । त्यही भएर मेरो आत्म सम्मानमा ठेस लागेको थियो ।’

अभिजित यतिमै चुप लागेनन् । उनले भने, ‘आजभोलि गायकहरुको आवाजभन्दा उनीहरुको खोकी सुरिलो हुन्छ । उनीहरुको खोकीको आवाजलाई अटो ट्यूनमा हाल्ने हो भने थाहा हुनेछ कि आजभोलि कैयौं गायक यो भन्दा पनि खराब गाउँछन् ।’ 

शाहरुख खान र अभिजित भट्टचार्यबीच फिल्म ‘मे हुँ ना’ र ‘ओम शान्ति ओम’ को क्रेडिटको विषयलाई लिएर विवाद भएको थियो । त्यसपछि अभिजितले शाहरुखका लागि गीत गाउन बन्द गरेका हुन् । 

शाहरुख अहिले उनको फिल्म ‘जिरो’ को काममा व्यस्त छन् । यस फिल्ममा शाहरुख खानका साथै अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मा पनि मुख्य भूमिकामा रहनेछन् । यो फिल्म २०१८ को डिसेम्बरमा रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया