‘कसैले यौनको आशयले बोलाउने, छुने, मेसेज पठाउने गरेमा सहेर नबस्नू’

 असोज १९, २०७५ शुक्रबार १४:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । 

महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । 

जिल्लामा समेत महिला हिंसा, दुव्र्यवहार र बलात्कारको घट्ना बढ्दो पाइएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई सहभागी गराएर शुक्रबार सचेतनामूलक कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

कार्यक्रममा यौन दुर्व्यवहार, महिला हिंसा, लागुऔषध, शान्ति सुरक्षा, साइबर क्राईम, कानूनी प्रावधान, सजाय व्यवस्था, ट्राफिक नियम लगायतका बारेमा छात्र÷छात्रालाई जानकारी दिइएको छ । 

डीएसपी केसीले कसैले यौनको आशयले बोलाउने, छुने, मेसेज पठाउने गरेमा सहेर नबस्न छात्राहरुलाई आग्रह गर्नुभयो । 

प्रहरी सहायक निरीक्षक सिता पछाईले हिंसालाई गुपचुप राख्दा आपराधिक मानसिकता भएका व्यक्तिको मनोबल झनै बढ्ने उल्लेख गर्नुभयो । 

महिला हिंसाविरुद्धको सचेतनामूलक अभियान अन्य विद्यालयमा पनि पुर्‍याइने सामुदायिक विकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया