यातायात व्यवसायीले भने, ‘किन सरकारले तोकेको भाडा लिने ?, लागे जति लिएका छौँ’

साना सवारीले लिए मनपरी भाडा

 असोज १९, २०७५ शुक्रबार १८:१८:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् ।

सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा ५ सय ७६ तोकिए पनि ९०० रुपैयाँसम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिए पनि एक हजार ५ सयसम्म लिइएको छ ।

कोटेश्वरबाट जनकपुरसम्मको भाडा ७ सय ८५ सम्म तोकिए पनि एक हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले सुनाउनुभयो ।

‘किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने ?, हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए’, उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताउनुहुन्छ । 

विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ । विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ ।

बुकिङ नगरी सकियो टिकट

असोज ९ गतेदेखि नै दसैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन् । अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गर्नुभयो ।

भनसुनका आधारमा मात्र टिकट दिइरहेको उहाँको भनाइ छ । सप्तकोशी यातायात सङ्घका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गर्नुहुन्छ ।

यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन् । सङ्घले २५० सवारी थपेर शुक्रबारदेखि टिकट दिन सुरु गरिएको जनाएको छ ।
थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दसैँ मान्न लगिने उहाँको प्रतिबद्धता छ । २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • महेश कुमार पाैडेल

    Oct. 5, 2018, 7:49 p.m.

    सरकार निरीह भएकाे प्रमाण हाे याे ।जनतालाई राहत दिन सरकारले हस्तक्षेप गर्नै पर्छ ।अन्यथा जनताले दुख पाउँछन्।जनताले दुख पाएयछि सरकारकाे बिराेध गर्नेछन

  •  0 Reply

तपाईको प्रतिक्रिया