जनकपुर प्रवेश गर्‍याे रेल

 असोज १९, २०७५ शुक्रबार १८:३३:५६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पाँच वर्षदेखि बन्द बुहप्रतिक्षित एवं नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल जनकपुर प्रवेश गरेको छ ।

रेल्वे लीग परीक्षणको क्रममा जनकपुरधाम उपमहानगरपालिका १७ कनकपट्टी आइपुगेको हो । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेल्वेको लीग परीक्षणको क्रममा कनकपट्टीसम्म २२ किलो मिटर लीगमा भारतीय इन्जिनसहितको रेल बोगी गुडाएर सफल परीक्षण समेत भइसकेको छ ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाका अनुसार अबको एक साताभित्र रेल पुरानो स्टेशन जनकपुर आइपुग्ने छ । सन् २०१८ भित्र रेल गुडाउने लक्ष्यसहित भारत सरकारको आर्थिक सहयोगमा निर्माण भईरहेको रेल्वे लीग एवं अन्य कामहरुको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निरीक्षण समेत गरेका छन् ।

जनकपुरको पुरानो रेल्वे स्टेशनबाट झण्डै १० किलोमिटर धनुषाको विदेह नगरपालिका ९ वैदेही स्टेशनमा रेल्वेको ट्याम्पिंग मेसिनमा चढेर लीग हुँदै भारतीय राजदूत पुरीसहित विदेश मन्त्रालयका पदाधिकारीहरु पुगेका थिए ।

भारतीय राजदूत पुरीले निरीक्षणको क्रममा रेल्वे लीगको निर्माण सम्पन्न भए पनि सिभिलतर्फका कामहरु अझै बाँकी रहेकाले काममा तीव्रता दिन निर्देशन दिनुभयो । राजदूत पुरी बैदेही स्टेशनबाट फर्किनु भएको थियो भने भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुको टोली जयनगरसम्म पुगेर निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।

रेल निर्माणका ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले त्यसै आउँदो पुस महिनादेखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लीग परीक्षणको साथै अन्य बाँकी अन्तिम चरणका कामहरु धमाधम गरिरहेको जनाएको छ ।

लीग परीक्षण अन्तर्गत पहिलो चरणमा गएको साउन २३ सम्म भारतको जयनरदेखि धनुषाको खजुरीसम्म साढे ८ किलोमिटर  भारतीय इन्जिनसहितको ५३ वटा रेल बोगी गुडाएर सफल परीक्षण गरिएको थियो ।

त्यस्तै दोश्रो चरणमा समेत ९ किलोमिटर बोगी सहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म र तेश्रो चरणमा साढे चार किलोमिटर गरी २२ किलोमिटर सफल परीक्षण गरी सकिएको इञ्जिनियर ओझाले बताउनुभयो ।

परीक्षण गर्ने रेलको बोगीमा रेल्वे ट्रयाकमा हाल्ने कालो गिट्टी जयनगरबाट ल्याउने काम पनि भइरहेको छ । रेल्वेबाट सबै बोगीमा ट््रयाकमा हाल्ने कालोगिट्ट्ी पनि पटक पटक ल्याउने र बिछ्याउने काम भैरहेको ओझाले बताउनुभयो । 

५ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेल सेवा पुसदेखि भारतको जयनगरदेखि जनकपुरधाको कुर्थासम्म ३५ किलोमिटरको लीगमा सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया