बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

 असोज १९, २०७५ शुक्रबार १९:७:५२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार सजाय सुनाएको हो । जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१, हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेका थियो ।

पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ ।
यस्तै मेलौली नगरपालिका–२, का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि शुक्रबार नै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र ४० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।

ओडले गएको जेठ ८ गते जबर्जस्ती करणी गरेका थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया