पोखरा घुमाउन भन्दै भारतमा बेच्न लगिएका तीन जना नेपाली बालिकाको उद्धार

 असोज २०, २०७५ शनिबार ७:३१:३० | सुजता सुनुवार

इलाम – इलामको पशुपतिनगरबाट तीन बालिकाको उद्धार गरिएको छ । सुर्खेत, जाजरकोट र रुकुमका तीन बालिकालाई पशुपतिनगर नाका हुँदै भारततर्फ बेच्न लैजाँदै गर्दा प्रहरीले पशुपतिनगर नाका र दार्जीलिङबाट उद्धार गरेको हो  ।

१६ वर्षका दुई र १५ वर्षका एक जना बालिकाको प्रहरीले माइती नेपाल पशुपतिनगरको सहयोगमा उद्धार गरेको बताएको छ । दुई जनालाई इलामको पशुपतिनगरको होटलबाट र एक जनालाई भारतीय प्रहरीको सहयोगमा दार्जीलिङबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । 


उहाँका अनुसार, मानव बेचबिखनमा संलग्न तीन जना युवालाई समेत पक्राउ गरिएको छ  । पक्राउ पर्नेमा कालिकोटको सन्नि त्रिवेणी गाउँपालिकाका २२ वर्षीय लङक तिरुवा, २६ वर्षीय लोकेश तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेका छन्् । 

उनीहरुले बालिकालाई पोखरा घुम्न लैजाने प्रलोभन देखाएर भारतमा बेच्न लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन ओसारप्रसार तथा जबरजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो । 


उद्धार गरिएका दुई जना बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अर्को एक जनालाई भने आफन्त सम्पर्कमा आएपश्चात जिम्मा लगाइने बताइएको छ । 

इलामको पशुपतिनगर नाका मानव तस्करीमा देशमै बढी प्रयोग हुने नाका मानिन्छ । माइती नेपालको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४-०७५ मा पशुपतिनगर नाका भएर भारत लैजान लागिएका १ सय ९५ जनालाई घर फर्काइएको छ भने १८ जनाको उद्धार गरिएको छ । 


साना चोर बाटा हुनु, इलाम घुम्न जाने भन्दा सबैले सहजै स्वीकार गर्नु, पारिवारिक आर्थिक स्थिति कमजोर हुनु दलालले नयाँ–नयाँ बाटाको प्रयोग गर्दै नयाँ तरिका अपनाउनु जस्ता कारणले मानव बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्न नसकेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, ‘खुल्ला सीमाको फाइदा उठाउदै इलाम मात्र नभई देशका ५२ जिल्लाका अधिकतम महिला तथा बालबालिकालाई सिमानाका कटाउन यो नाकाको प्रयोग हुदै आएको छ ।’ 
 

अन्तिम अपडेट: चैत २८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Lok bdr pun

    Oct. 6, 2018, 7:55 a.m.

    Chelibeti bechne apradhi lai sajay dinai parchha.baru surkhet ko balika vannuvayo.surkhet kun thauko rahichha name ra address sahit vannu vaye hunthyo

  •  0 Reply

तपाईको प्रतिक्रिया