महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनिकरण गर्न आत्मरक्षा तालिम

 असोज २०, २०७५ शनिबार १७:२९:३६ | निर्मला खडायत
unn.prixa.net

कैलाली – महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणका लागि धनगढीमा शनिबारदेखि आत्मरक्षा सम्बन्धी शिविर सुरु भएको छ । 

बलात्कार, हत्या, हिंसा जस्ता अपराध बढ्दै जान थालेपछि कैलालीको धनगढीबाट किशोरी–महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिन सुरु गरिएको हो ।
महिला अधिकार सम्बन्धी कार्यरत विभिन्न गैरसरकारी संस्थाको सहयोगमा राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले आयोजना गरेको सातदिने शिविरको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री भट्टले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको बेला यो तालिमले महिला हिंसा न्यूनिकरण हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशका कुरीति, कु–संस्कारका कारण महिला हिंसा बढिरहेको बताउँदै त्यसको न्यूनिकरणका लागि प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बलात्कार, हत्या, हिंसालगायतका घटना बढिरहेका बेला धनगढीका किशोरी, युवती र महिलाहरु आत्मरक्षाको तालिममा होमिएका छन् । तालिममा सहभागीहरुलाई मुक्का, पञ्च, किक प्रहार गर्नेजस्ता आत्मरक्षाका उपाय सिकाइने आयोजक नेपाल गोजुरियो कराँते दो महासंघका महासचिव प्रकाशकुमार चन्दले बताउनुभयो ।

आत्मरक्षाको तालिमबाट महिलाहरुले सुरक्षित हुने उपाय सिक्नुका साथै उनीहरुको आत्म विश्वासमा वृद्धि हुने राष्ट्रिय गोजुरियो कराँते दो संघका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दको भनाई छ ।

उहाँले महिलाहरु असुरक्षित भइरहेका बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको बताउनुभयो । महिला हिंसा न्यूनिकरण गर्न सरकारी स्तरबाट ठोस कदम नचलेका बेला आत्मरक्षा तालिमले केही हदसम्म भए पनि यस्ता घटना न्यूनिकरणमा सहयोग पुग्ने अधिकारकर्मी बताउँछन् ।

‘हरेक दिन बिहान रडियोे सुन्दा, पत्रपत्रिका पढ्दा प्रायः दैनिक जसो बलात्कार र महिला हिंसाका समाचार पढ्नुपर्दा मन खिन्न भएको थियो । तर आत्म रक्षा तालिमबाट यस्ता घटनामा कमी आउनेमा विश्वस्त छु’, अधिकारकर्मी निर्मला बागचन्दले भन्नुभयो ।

तालिममा एक हजार जनालाई सहभागी गराउने उद्देश्य राखिएको भए पनि शनिबारको तालिममा १४ सयभन्दा बढी महिलाको सहभागिता रहेको आयोजकले बताएको छ ।

शिविरमा विभिन्न विद्यालयका छात्रा, सरकारी तथा गैर–सरकारी संघसस्थाका महिला कर्मचारी लगायतको सहभागिता रहेको छ । धनगढीबाट सुरुआत गरिएको यो अभियानलाई देशका सबै प्रदेशमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया