पत्रकारसँग प्रचण्डको गुनासो : सडकका खाल्डामात्रै हैन सरकारले देशकै खाल्डा पुरेको छ, चर्चा हुनुपर्‍याे

 असोज २०, २०७५ शनिबार १८:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – गोरखा सदरमुकाममा शनिबारबाट सुरु भएको दसैँ सस्तो बजार मेला उद्घाटनमा आउनु भएका प्रचण्डले पत्रकारहरुसँगको भेटघाटमा सरकारले गरिरहेका राम्रा कामको प्रचार कम भएको गुनासो गर्नुभयो ।

भूपरिवेष्ठित राष्ट्र नेपाल अब विभिन्न बन्दरगाहसँग जोडिन लागेको भन्दै उहाँले चीनसँगको ४ वटा बन्दरगाह प्रयोग गर्नेबारे भएको सम्झौतालाई सरकारको उल्लेख्य कामको रुपमा चर्चा गर्नुभयो ।

‘साथीहरु सडकको खाल्डोको मात्रै चर्चा गर्नुहुन्छ’, पत्रकारहरुसँग ठट्यौली पारामा उहाँले भन्नुभयो, ‘देशमा खाल्डा पुर्ने भन्दा ठूल्ठूला काम भएका छन्, तिनको पनि चर्चा गर्नुपर्‍याे ।’

तर सडकलगायत पूर्वाधारलाई व्यवस्थित बनाउने दिशामा पनि सरकार गम्भीर भएर लागिरहेको उहाँको दाबी छ । देशमा बढ्दो बलात्कारलगायत आपराधीक घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अबलम्बन भएन भन्ने नागरिकका गुनासोको छिट्टै अन्त्य गरिने प्रचण्डको भनाई थियो ।

संघीयता कार्यान्वयनका लागि अत्यावश्यक पर्ने ऐन कानून बनाउने काममा सरकार व्यस्त हुनु परेको भन्दै उहाँले देशको आर्थिक समृद्धिका कामहरु अब सुुरु भएको बताउनुभयो । 

‘असोज ३ गतेसम्म बनाइसक्नु पर्ने सबै कानून बनिसकेका छन्’, प्रचण्डले भन्नुभयो, ‘ती कानून नबनाएका भए देशमा ठूलो संवैधानिक संकट आउन सक्थ्यो, त्यो टरेको छ, अब आर्थिक समृद्धि र विकासका काममा सरकारको ध्यान केन्द्रीत हुन्छ ।’

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया