कक्षा ११ काे परीक्षाफल प्रकाशित

 असोज २०, २०७५ शनिबार १८:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कुल पाँच लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा ग्रेड ‘ए प्लस’ अर्थात जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १ सय ४५ विद्यार्थी छन् । ग्रेड ‘ए’ अर्थात जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार ९ सय ४९, ग्रेड ‘बी प्लस’ अर्थात जीपीए २.८१ देखि ३.२० ल्याउने २४ हजार १ सय १५ विद्यार्थी, ग्रड ‘बी’ अर्थात जीपीए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७ सय ३१ रहेका छन् ।

त्यसैगरि ग्रेड ‘सी प्लस’ अर्थात जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार ७ सय ७०, ग्रेड ‘सी’ अर्थात जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार ग्रेड ‘डी प्लस’ अर्थात जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४ सय ६, ग्रेड ‘डी’ अर्थात जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार १ सय २७ र ग्रेड ‘ई’ अर्थात जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अंक प्रणाली पद्धतिको आंशिक तर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७, आंशिकतर्फको परीक्षा रद्ध गरेको र अंक प्रणालीतर्फ ४ जना गरी कुल १ सय ३१ जना परीक्षार्थीको परीक्षा रद्ध गरेको जनाएको छ ।

गएको जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महिना अगाडि नै बोर्डले यसवर्ष नतिजा सार्वजनिक गरेको हो । 

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको http://www.neb.gov.np/results र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नेपाल टेलिकमकाे एसएमएस गर्ने तरिका :

NEB टाइप गरी एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ । 

नतिजा प्रकाशित भए पनि वेबसाइटहरुमा अपलाेड हुन समय लाग्ने हुनाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा थाहा पाउन केही समय लाग्न सक्छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Samundra sedhai

    Oct. 6, 2018, 9:50 p.m.

    यस्तो पनि रिजल्ट हुन्छ ! कि त रिजल्ट नै नगर्नु, कि गरिसकेपछि राम्रै गर्नु नि, किन हावा भरमा रिजल्ट गर्ने होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया