यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको कुरालाई आफूले गम्भीरताका साथ लिएको बताउनु भएको छ ।
संसदीय मामिला पत्रकारितासम्बन्धी संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसदको विकास तथा प्रविधि समितिको निर्णयमा संचारमन्त्रीले हस्तक्षेप गरेको र सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
आफूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवसँगको सम्बादमा सांसदलाई कारबाही नभई मन्त्रालयको निर्णय छानबिन गरेर कारबाही हुन्छ भनेर जवाफ दिएको उहाँले बताउनुभयो ।
मन्त्रीहरूका यी गतिविधिले सरकारले सदनलाई छाँयामा पार्न खोजेको हो कि भन्ने पत्रकारहरुको जिज्ञासामा सभामुख महराले संसद सरकारको छाँयामा नभई ‘वाचडग’ भएर निरन्तर सरकारका सबै गतिविधि निगरानीमा राख्ने पनि बताउनुभयो ।
पत्रकारहरूलाई कुनै पनि समितिमा बन्देज नभएको भन्दै सभामुख महराले समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताउनुभयो ।
राज्य व्यवस्था समितिमा पत्रकारलाई निषेध गरिएको प्रसंगमा सभापतिहरूले संसदीय प्रक्रिया सिकिरहेकाले नआत्तिन पनि आग्रह गर्नुभयो । संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय भएका मन्त्रीहरूका हस्तक्षेपको विषय सम्बन्धित मन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।