नागढुंगा – नौबिसे सडकमा जाम कम हुन थाल्यो

 असोज २१, २०७५ आइतबार ९:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य हुन थालेको छ । दुई दिन अघिसम्म अस्तव्यस्त यो खण्डमा हिजोदेखि गाडीको आवागमन सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगा नौबिसे सडकखण्डमा पर्ने पिपलामोडमा सडक कालोपत्रे गर्ने काम सकिएकाले जाम कम भएको हो ।

यस्तै हरेक दिनको जामले यात्रुले सास्ती पाएपछि प्रहरीले विशेष टोली खटाएको छ । ट्राफिक प्रहरीको विशेष टोली पनि मोटरसाइकलसहित ठाउँ ठाउँमा खटिएका छन् । गाडी बिग्रिए तुरुन्त हटाउने उपकरण पनि राखिएकाले जाम हट्न थालेको नागढुंगाका प्रहरी नायब निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक विभागले बिग्रिएका गाडी हटाउन लोडरको व्यवस्था गरेको छ । नागढुंगा नौबिसे खण्डमा गाडी बिग्रंदा र पिचको कामले धेरै जाम हुने गरेको थियो । यो खण्डमा १५ दिनसम्म यात्रु १० घण्टासम्म जाममा बस्न बाध्य भएका थिए । तर अब गाडीको आवातजावत सामान्य भएकाले ढुक्क भएर यात्रा गर्न  प्रहरीले आग्रह गरेको छ ।  

नागढुंगा नौबिसे सडकखण्डमा अस्थायी चौकी राखेर प्रहरीले गाडीको व्यवस्थापन सुरु गरेको छ ।  यस्तै कलंकी– नागडुंगासम्मको यात्रा पनि केही सहज भएको छ । हरेक दिनको जाम र बढ्दो धुलोका कारण असर परेको भन्दै स्थानियबासिन्दाले आन्दोलन गरेपछि यो सडकखण्डका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया