दुवईमा एनआरएनएले सुपरमार्केट खोल्ने

 असोज २१, २०७५ आइतबार १०:५९:३४ | उमाकान्त पाण्डे

युएई – एनआरएन युएईले दुवईमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको नियमित कार्य समिति भेलाले कार्ययोजना सहित सुपरमार्केट सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो । 

युएईका सातै वटा राज्यमा पालैपालो कार्य समिति भेला गर्ने नीति अनुरुप शुक्रबार फुजेराहमा भएको भेलाले सुपरमार्केट सञ्चालन गर्ने विषयमा निर्णय गरेको हो । 

सुपरमार्केटमा एनआरएन तथा अन्यले समेत लगानी गर्न सक्ने व्यवस्था गरिनेछ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर काम गरिने संघका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिनुभयो । 

एनआरएन युएईले दसैँमा शुभकामना आदानप्रदान र तिहारमा देउसी भैलो कार्यक्रम सहित नोभेम्बर २३ मा वार्षिक उत्सव मनाउने जनाएको छ । त्यस्तै डिसेम्बर महिनामा विभिन्न अस्पतालमा गएर लामो समय उपचाररत नेपालीको लगत राख्ने तथा आबश्यक सहयोग गरिने भएको छ । 

जनवरी महिनालाई युएईमा सपरिवार बस्दै आएका परिवारसँग भेटघाट तथा सामाजिक अभियानमा सहभागी बनाउन ‘फेमिली डे’ कार्यक्रम गरिनेछ । फ्रेबुअरी महिनालाई जनचेतना तथा श्रमिक क्याम्प भ्रमण गर्ने र दूतावासको समन्वयमा मजदुर क्याम्पमा जनचेतना कार्यक्रम गर्ने गरी जनचेतना महिनाका रुपमा घोषणा गरिएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Ganesh singh rawal

    Oct. 7, 2018, 2:16 p.m.

    म हाल दुबइ मा छु।राम्रो सोचाइ हो ,लगानि कस्ले गर्ने, लगानिका मापदण्ड के हुन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया