रामेछापमा अझै बनेनन् दुईसय ८२ विद्यालय

 असोज २१, २०७५ आइतबार १४:२०:५६ | दीपक भट्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रामेछाप – बिनाशकारी भुकम्प गएको तीनवर्ष बितिसक्दा पनि रामेछापका २ सय ८२ वटा क्षतिग्रस्त विद्यालय भवनहरु नबन्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरु अझै अस्थायी टहरामा नै बसेर अध्ययन गर्न बाध्य भएका छन् ।

भूकम्पले जिल्लाका ४ सय १९ वटा सामुदायिक विद्यालयका १ हजार ९ सय ३५ कक्षा कोठाहरु पूर्ण रुपमा क्षती पुर्याएपछि ती विद्यालयहरुमा अध्ययरत बालबालिकाहरु अस्थायी टहरामा बसेर अध्ययन गर्दै आएका छन् ।

अस्थायी टहरामा पढ्दै आएका बालबालिकाहरुलाई नयाँ कक्षा कोठामा सार्ने सरकारी नीति अनुरुप अहिले रामेछापमा केही विद्यालय भवन निमार्णको कामले तीव्रता पाएको छ भने अझै २ सय ८२ वटा सामुदायिक विद्यालयका भवनहरु कहिले निमार्ण हुने हो कुनै टुङ्गो छैन् ।

भूकम्प गएको दुई वर्षसम्म जाडो र वर्षामा अस्थायी टहरामा नै बसेर पढेका विद्यार्थीहरु विद्यालयको हाताभित्र नयाँ भवन निमार्ण होला र ढुक्कसँग नयाँ भवनमा बसेर पढौला भन्ने आशा लिएका बालबालिकाहरुले यस वर्षको जाडोको पढाई पनि अस्थायी टहरामा नै पढ्नु पर्ने भएको छ ।

सरकारले समयमा नै क्षतिग्रस्त विद्यालयका भवनहरु निमार्ण गर्न पहल कदमी नगर्दा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । रामेछापमा दुई वर्षअघि एसियाली विकास बैंक, शिक्षा मन्त्रालय अन्तर्गत केन्द्रिय कार्यान्वयन इकाई, विभिन्न गैरसकारी संस्थाहरु र जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय ३७ वटा विद्यालयहरुको निमार्णको काम अघि बढेको भएता पनि अन्य विद्यालयका भवन निमार्णको काम भने अझै अन्यौलता रहेको छ ।

एडीबी रामेछापमा १९ वटा विद्यालयहरु निमार्ण गरिदिने भएको छ । जसमध्ये पहिलो चरणमा ११ वटा विद्यालय निमार्ण गर्न एडीबीले १ अर्ब १८ करोड ८२ लाख ५ हजार ८ सय ४८ रुपैयाँको लागतमा निमार्णाधीन विद्यालयको काम अन्तिम चरणमा पुगेको छ । 

रामेछापमा १ सय ३७ वटा विद्यालयहरु निमार्ण भए पनि अझै २ सय ८२ वटा विद्यालयहरु निमार्ण हुन सकेका छैनन् । ती विद्यालयहरुमा अध्ययरत बालबालिकाहरु अझै कति वर्षसम्म अस्थायी टहरामा बसेर अध्ययन गर्नु पर्ने हो भन्ने अझै टुङ्गो छैन । लामो समयसम्म पनि विद्यालय भवन नबन्दा विद्यार्थी र शिक्षकहरु साथै अभिभावकहरु समेत अन्यौलमा परेका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया