चलचित्र क्षेत्रमा महङ्गिंदै हास्य कलाकार

 असोज २१, २०७५ आइतबार १८:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एक जमाना थियो सिनेमामा नायक, नायिका हुन्थे, भिलेन हुन्थे र उनीहरुसँगै सिनेमाको मसलाका रुपमा हास्य कलाकारहरुलाई प्रस्तुत गरिन्थ्यो । 

तर अहिले समय फेरियो । समय सँगसँगै प्रविधि फेरियाे, प्रविधि सँंगसँगै दर्शक फेरिए । सिनेमाको कथा फेरियो । नेपाली सिनेमा हेर्ने संस्कारको विकास हुँदै गयो । सिनेमा हेर्ने संस्कार बसेसँगै सिनेमा हलमा प्रेम कथा र द्वन्द्वभन्दा पनि हास्य कलाकारले निर्माण गरेका सिनेमाहरु बढी चल्न थाले ।

हास्य कलाकारको परिचय सिनेमा नगरीमा यसरी फेरियो कि पहिलेदेखि चलेका अभिनेता नायक नायिकालाइ नै विस्थापित गर्दै हास्य कलाकारहरुको बाहुल्य बढ्न थालेको कलाकार दीपकराज गिरीको बुझाई छ ।

टेलिभिजनकाे पर्दामा तितो सत्य, जिरे खुर्सानी र मेरीबास्सैबाट जन्मे हुर्केका हास्य कलाकारहरुले ५ वर्षअघि चलचित्र छ एकान छ बनाए र अपेक्षा गरेभन्दा बढी चल्यो । 

छ एकान छ को सफलतासँगै नेपाली सिनेमा बजारमा हास्य कलाकारहरुको अनुहार चल्यो, नाम बिक्न थाल्यो र मूल्य बढ्न थाल्यो ।

हास्य कलाकारहरुको मूल्य मात्र बढेन, उनीहरुको कथा बढ्न थाल्यो । त्यो सँगसँगै उनीहरुको अभिनयको मात्रा समेत बढ्न थाल्यो । हास्य कलाकारलाई चट्पटेका रुपमा मात्र प्रस्तुत गर्ने समय फेरियो । 

अब निर्माण हुने सिनेमाहरुमा हास्य कलाकारहरुले घरको नोकर, नायक वा नायिकाको पछौटे कलाकार, सुरुवालमा इजार झन्ड्याएर वा अनुहार बिगारेर गर्नु पर्ने भूमिकाहरुमा कम मात्रामा अभिनय गर्न थाले । त्यस्ता भूमिकालाई विस्थापित गर्दै सिनेमाको मुख्य पात्रका रुपमा सिनेमामा देखिन थाले ।

नेपाली सिनेमा छ एकान छ प्रदर्शन भएसँगै नेपाली सिनेमामा हास्य कलाकारले निर्वाह गर्ने भूमिकाले फरक रुप लिएको अर्का कलाकार जितु नेपालको बुझाई छ ।
पछिल्लो पटक हास्य व्यंग्य कलाकारहरुले निर्माण गरेको सिनेमा सत्रु गतेले दर्शकको राम्रो साथ पायो । त्यसभन्दा अघि निर्माण भएको सिनेमा छक्का पञ्जा २ ले सिनेमा क्षेत्रको हालसम्मकै इतिहास ब्रेक गरेको छ । 

व्यवसायका हिसाबले, दर्सकका हिसाबले र नेपाली सिनेमा विदेशमा पनि सफल प्रदर्शन हुन्छ भन्ने हिसाबले सिनेमा छक्का पञ्जा २ ले रेकर्ड तोडेको थियो । अहिले त्यही सिनेमाको सिक्वेलका रुपमा निर्माण भएको सिनेमा छक्का पञ्जा ३ प्रदर्शनको संघारमा छ । 

यो सिनेमा असोज २४ गते अर्थात घटस्थापनाका दिनदेखि प्रदर्शनमा आउँदै छ । यस चलचित्रमा समावेश भएको पहिलो नम्बरमा र पछि जोवन ढल्किन्छ बोलका दुवै गीत यतिबेला चर्चामा छन् । 

हास्य कलाकारहरुको बाहुल्य रहेको सिनेमा छक्का पञ्जा ३ को पहिलो नम्बरमा बोलको गीत युट्युबमा रिलिज हुनेबित्तिकै एक दिनमै करिव ८ लाखभन्दा धेरै दर्शकले हेरेका थिए । 

यसले के देखाउछ भने हास्य कलाकारहरुको पारिश्रमिक मात्र बढेको छैन, उनिहरुको अभिनय, दर्शकहरुको तारिफसँग सगै उनीहरुको पर्खाइमा दर्शकहरु रहन थालेका छन् । आफ्ना लागि यो गौरवको विषय भएको छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाको भनाई छ ।

यससँगै हास्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको यो समूह आफ्नो ब्यानरभन्दा बाहिरका चलचित्रहरुमा अभिनय नगर्ने र आफ्नै ब्यानरलाई बलियो बनाउने मनस्थितिमा पुगेको छ । 

अन्य केही हास्य कलाकारहरु चलचित्रका नायककोभन्दा धेरै पारिश्रमिक लिएर मात्र अभिनय गर्ने गर्छन् । यसलाई हेर्दा पछिल्लो समय हास्यव्यंग्ंय कलाहारहरु सानो पर्दाबाट ठूलो पर्दामा जम्न थालेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया