महिलाको शरीरबाट तीनवटा रड वारपार

 असोज २१, २०७५ आइतबार १९:२९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराहीमा आइतबार सवारी दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक पैदल यात्रुको शरीरमा तीन वटा फलामे छड (रड) पसेको छ ।

घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङनी बस्ने ३८ वर्षकी तिला परियार उछिट्टीएर फलामे छड बोकेको ट्याक्टरमा ठोक्किँदा छातीबाट तीन वटा छड (रड) पसेर ढाडबाट निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रड अनलोड गर्नका लागि तयार भएको ट्याक्टरमा ठोक्किएर त्यस्तो घटना भएको हो । घटनामा संलग्न चालकसहित ट्याक्टर र दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बालमन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ वर्षका हेराम वली घाइते भएका छन् ।

रा ३ प ५२५८ नम्बरको मोटरसाइकल र लु ४३ प २४२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाइकलले पैदल यात्रु ती महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करपछि महिला रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटना लगत्तै रड काटेर घाइते परियारलाई उपक्षेत्रीय अस्पतालमा पुर्‍याइए पनि आसीयू नहुँदा उपचार गर्न नसकिएको भन्दै तत्काल भैरहवा रिफर गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक निर्देशक वसन्त लामिछानेले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया