भारतमा भन्दा नेपालमा इन्धन सस्तो, भारतीय गाडीबाट हुने तस्करी रोक्न निगमले मन्त्रालय गुहार्‍याे

 असोज २१, २०७५ आइतबार १९:५५:२० | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – भारतमा भन्दा नेपालमा पेट्रोलिम पदार्थको भाउ सस्तो भएपछि नेपालबाट भारततर्फ अवैध निर्यात हुन थालेको छ ।

भारततिरबाट रित्ता गाडी नेपाल आएर तेल भर्ने र पारीपट्टी लगेर खन्याउने क्रियाकलाप भैरहेको निगमले जनाएको छ । एउटै गाडीले दिनमा ५ पटकसम्म नेपालमा डिजल भरेर भारतमा लगेर बेचेकोे पनि भेटिएको भन्दै निगमले सिमा क्षेत्रमा गाडीलाई अड्कलेर मात्रै तेल भर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।

आइतबार उद्योण वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर निगमले भारतीय मालबाहक गाडीले नेपालमा आएर तेल भर्ने र भारतमा लगेर बेच्ने गरेको भन्दै नियन्त्रण गर्न अनुरोध गरेको हो ।

‘कतिपय भारतीय गाडीले दिनमा पाँचपटकसम्म नेपालमा आएर तेल भर्ने गरेको भेटिएको छ, एउटा गाडीको ट्यांकीमा ४ सय लिटरसम्म तेल अट्छ, यसरी हेर्दा एउटै गाडीले दिनमा २ हजार लिटरसम्म तेल तस्कर भएको अनुमान गर्न सकिन्छ’,  निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो ।

अहिले भारतको रक्सौलमा भन्दा नेपालको विरगञ्जमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ  २२ पैसा र डिजल २६ रुपैयाँ ६७ पैसा सस्तोे छ । अहिले निगमले डिजल र पेट्रोल क्रमश ४ र ५ रुपैयाँ घाटामा व्यहोरिरहेको छ । भारतको रक्सौलमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ २८ पैसा छ भने नेपालको विरगञ्जमा १ सय १२ रुपैयाँ ५ पैसा छ । यस्तै डिजल रक्सौलमा १ सय २२ रुपैयाँ छ भने नेपालको विरगंजमा ९९ रुपैयाँ ५ पैसा छ । 

सीमाबाट जतिधेरै तेल भारततिर गयो निगमको घाटा झनै थपिँदै जाने भएकाले भारततर्फको तस्करी रोक्न मन्त्रालय गुहारिएको भट्टराईले जानकारी दिनुभयो । स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा तेल चोरी रोक्न सकिने उहाँले बताउनुभयो 

तेलको आयात २० प्रतिशतले बढ्यो

भारतमा भन्दा नेपालमा इन्धन सस्तो भएपछि भारततिर अवैध निकासी हुँदा नेपालमा इन्धनको आयात अस्वभाविक बढेको छ । गएका वर्षको तुलनामा पछिल्ला ३ महिनामा भारतबाट आयात हुने पेट्रोल र डिजलको आयात २० प्रतिशतसम्मले बढेको पनि निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

 

‘हुन त हामी विकास निर्माणको चरणमा छौं, त्यसैले पनि केही मात्रामा तेलको आयात बढ्नु स्वभाविक मान्न सकिएला तर बर्खामा पनि कुनै महिनामा पोहोरको तुलनामा २० प्रतिशतले आयात बढेको छ, यसको मुख्य कारण भनेकै भारततर्फ अवैध निकासी हुनु हो’, भट्टराईले भन्नुभयो । 

आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ७ हजार २ सय ७० किलोलिटर पेट्रोल आयात भएकोमा गएको आर्थिक वर्षमा ४ लाख ८८ हजार ५ सय ७५ किलोलिटर आयात भएको छ ।  त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा १३ लाख १९ हजार ८ सय ७३ किलोलिटर डिजल आयात भएकोमा गएको अर्थिक वर्षमा १३ लाख ८८ हजार ८ सय ६९ किलोलिटर डिजल आयात भएको छ । 

नेपालमा आर्थिक वर्ष २०७५/७६ लागेपछि भारतमा इन्धनको भाउ धेरै नै बढेको र नेपालमा त्यति धेरै नबढेकाले पछिल्ला ३/४ महिनामा  आयात धेरै बढेको छ ।
भारतमा विभिन्न शिर्षकका कर र सञ्चालन खर्च धेरै हुँदा इन्धन महँगो छ, भारतको तुलनामा नेपालमा विभिन्न शिर्षकका कर र सञ्चालन खर्च कम रहेको हुँदा तुलनात्मक रुपमा सस्तो छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया