इंग्लिस प्रिमियर लिग: फुलह्याममाथि आर्सनल ५–१ ले हावी

 असोज २१, २०७५ आइतबार २०:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले फुलह्याममाथि ५–१ को जित निकालेको छ ।

फुलह्यामको मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउनका लागि अलेक्जेन्द्रे लाकाजेटी र पिएरे एमरिक अबामेयाङ्ले दुई-दुई गोल गरे । २९औं मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४४औं मिनेटमा एन्द्रे सर्लेले फुलह्यामका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफमा आर्सनलले चार गोल गर्‍यो ।

४९औं मिनेटमा लाकाजेटीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए । ६७औं मिनेटमा अबामेयाङ्को पासमा एरोन राम्सेले गोल गरेपछि आर्सनलले अग्रता ३–१ मा लम्ब्यायो ।

७९औं मिनेटमा अबामेयाङ्ले गोल गरेपछि आर्सनलले ४–१ को अग्रता लियो । इन्ज्युरी समयमा अबामेयाङ्ले पनि व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ५–१ को फराकिलो जित निकाल्यो ।

जितसँगै आर्सनलले प्रिमियर लिग तालिकामा ८ खेलबाट १८ अंक बनाएको छ । फुलह्याम भने समान खेलबाट ५ अंक जोड्दै पुछारबाट चौथो स्थानमा छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया