नेपाली सेना तयारी अवस्थामा, निगमका चालकले हड्ताल गरे पनि इन्धन अभाव नहुने

 असोज २२, २०७५ सोमबार १३:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चालकहरुले बेलाबेलामा आन्दोलन गर्दा इन्धनको अभाव हुने गरेको भन्दै नेपाल आयल निगमले वैकल्पिक जनशक्ति पनि तयार पार्न थालेको छ । 

यसै महिनाको सुरुमा पनि चालहरुले अमलेखगञ्जबाट तेल नउठाउँदा १-२ दिन देशैभर हाहाकार भएको थियो । निगमले त्यतिबेलै नेपाली सेनासँग सहयोग मागेर नेपाल एयरलाइन्सका विमान चार्टर गर्दै ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवा पठाएको थियो । 

नेपाली सेनाका चालक देखेपछि निगमका चालक डराएर तेल ढुवानी गरेका थिए । निगमले सेनाका ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवामा तेल लोड अनलोड र प्रशासनिक काम गर्ने तालिम दिइसकेको छ । 

‘हामीले उहाँहरुलाई सबै तालिम दिइसकेका छौँ, निगमलाई अरु चालकको सहमति नहुनेबित्तिकै उहाँहरुले ट्यांकर चलाउन थालिहाल्नुहुन्छ,  अब चालकले हडताल गरे भने पहिले जस्तो हाहाकार हुँदैन’, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । 

यस्तै निगमले नेपाली सेना र नेपाल प्रहरीलाई ट्यांकर थप्नको लागि पनि आग्रह गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया