नेपाली शर्ट फिल्म ‘हाम्रो आँखा कहिले खुल्छ’ भारतमा पुरस्कृत

 असोज २२, २०७५ सोमबार १३:४५:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सन्देशमूलक नेपाली लघुचलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ भारतमा पुरस्कृत भएको छ । यस लघुचलचित्रमा अपाङ्ता भएका व्यक्तिको मनोभाव र समाजले उनीहरु प्रति गर्ने व्यवहारलाई समेटिएको छ ।

भारतको राजधानी नयाँ दिल्ली र मुम्बईमा हालै आयोजित लघुचलचित्र महोत्सवका अवसरमा यस लघुचलचित्रले विभिन्न विधाका पुरस्कार हात पारेको हो । 

मुम्बईमा आयोजित प्रथम कलासमृद्धि ‘अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सव’मा उत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्र ‘गोल्डेन अवार्ड’ र ‘उत्कृष्ट सिनेमाटोग्राफी’ विधामा पुरस्कृत भएको छ । 

यस्तै, नयाँ दिल्लीमा भएको दोस्रो ‘सिने प्रिमियर इन्डी शर्ट्स’ चलचित्र उत्सवमा ‘उत्कृष्ट लघुचलचित्र’ र ‘उत्कृष्ट निर्देशन’ विधामा पुरस्कृत भएको हो । छनौट गरिएका उत्कृष्ट चलचित्रको प्रदर्शनी तथा पुरस्कार वितरण समारोहमा मुम्बईमा लघुचलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ का निर्माता एवं अभिनेता पूर्ण परियार र छायांकार कृष्ण पाण्डे तथा दिल्लीमा भएको कार्यक्रममा अभिनेत्री कृति गौतमले पुरस्कार ग्रहण गर्नुभएको हो । 

चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार भएको भारत जस्तो मुलुकमा आफ्नो चलचित्र छनौटमा पर्नु र त्यसबाट पुरस्कृत नै हुनु आफ्नो लागि ज्यादै महत्वपूर्ण अवसर भएको निर्माता परियारले बताउनुभयो । पूर्ण इन्टरटेन्मेन्ट्सको प्रस्तुति रहेको लघुचलचित्रमा मुख्य भूमिकामा निर्माता परियार स्वयंको अभिनय रहेको छ । 

महिला कलाकारको मुख्य भूमिकामा ‘लिटिल मिस लमजुङ २०१५’ की विजेता कृति गौतमले अभिनय गर्नुभएको छ । बोल्न नसक्ने अवस्थाको व्यक्तिलाई गाली गर्ने, नराम्रो दृष्टिले हेर्ने छुच्ची गाउँले महिलाको भूमिका आफूले निर्वाह गरेको कलाकार गौतमको भनाई छ । 

हेर्दा निकै सरल र स्वाभिक लाग्ने तर व्यक्तिगत र सामाजिक जीवनमा निकै जटिल प्रभाव पार्ने विषयलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक खमेश श्रेष्ठले बताउनुभयो । 

त्यस्तै, प्रज्वल भित्रिकोटी, मनिषा परियार, सन्तोष परियार, प्रितिमान घले, भैराज घलेले त्यस चलचित्रमा अभिनय गरेका छन् । 

सहायक भूमिकामा पर्यटकीय होमस्टे गाउँ खासुर र लेते गाउँका स्थानीयबासीको अभिनय पनि चलचित्रमा समेटिएको छ । 

जिल्लाको रमणीय स्थल खासुर र आसपास क्षेत्रमा चलचित्रको छायाँकन गरिएको छ । पूर्ण परियार र खमेश श्रेष्ठको परिकल्पनामा तयार गरिएको कथालाई खमेशले निर्देशन गर्नुभएको हो । 

कृष्ण पाण्डेले पटकथा तयार पार्नुको साथै छायाँकन समेत गर्नुभएको छ । एड्भेञ्चर फिल्मस्ले दृश्य निर्माण गरेको यस लघुचलचित्रमा यादव लम्सालको शब्द र संगीत अनि प्रज्वल भित्रिकोटीको स्वरमा गीत तयार पारिएको छ ।

समाजमा रहेका तर नदेखिएका विषयलाई चलचित्रका माध्ययमबाट उठाउनु चलचित्रकर्मीको दायित्व भएको आयोजकले बताएको छ । मुम्बईमा भएको चलचित्र महोत्सवमा विश्वका ३० देशका २ सय ६० चलचित्र, निर्माता र कलाकार सहभागी थिए । 

नयाँ दिल्लीमा आयोजित चलचित्र उत्सवमा नेपाल लगायत भारतका मराठी, बंगाली, तामिल, उर्दू भाषामा निर्माण गरिएका विभिन्न प्रदेशका चलचित्र निर्माता र कलाकार सहभागी थिए ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया