स्वस्तिमा बनिन् टेम्पो चालक, रुचाउलान् त दर्शकले ?

 असोज २२, २०७५ सोमबार १४:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिनअघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला ‘दालभात तरकारी’को तयारीमा छिन् ।

त्योसँगै उनी विकासराज आचार्यले निर्माण गर्न लागेको सिनेमा ‘हजार जुनीसम्म’मा पनि अनुबन्धित भइसकेकी छिन् । चलचित्रका लागि भर्खरै छनोट भएका नवनायक अकी प्रधानले स्वस्तिमाको जोडी भएर काम गर्ने बताइएको छ । 

सिनेमा ‘होस्टेल रिटन्र्स’ मार्फत अभिनयमा डेब्यू गरेकी स्वस्तिमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो ।  निर्देशक तथा स्वस्तिमाका श्रीमान निश्चल बस्नेतसँग सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटमा कुटु’बोलको गीतमा काम गरेपछि स्वस्तिमाको करिअर निरन्तर अघि बढेको छ । 

त्यो गीतको सफलता छि उनले सिनेमा ‘छक्का पञ्जा –२’मा काम गरिन्  । ‘छक्का पञ्जा –३’ मा पनि उनको विशेष भूमिका रहेको छ । ‘छक्का पञ्जा’ को यो ब्यानरँसग काम गरेपछि उनको चर्चा अझ बढ्यो । त्यस्तै उनले अभिनय गरेको सिनेमा ‘नाइँ न भन्नु ल ५ पनि प्रदर्शनमा र्आसकेको छ । चलचित्रले सफल व्यापार गरेको थियो । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा ‘जय भोले’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदैछ ।

सबै चलचित्रहरुमा भन्दा फरक भूमिकामा देखिन लागेको चलचित्र हो ‘बुलबुल’ । नायिका स्वस्तिमा खड्का यतिबेला चलचित्र ‘बुलबुल’मा उनले निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले एक टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनले ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी बताइएको छ ।  

साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । नेपाली चलचित्र ‘साँघुरो’ का लेखक विनोद पौडेलले  यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका छन् । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरेको छ । निर्माता अबिरल थापाले बताएअनुसार चलचित्रको रिलिज भ्यालेन्टाइन डेको अवसरमा हुनेछ । 

‘नेपाली मितिअनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौँ’, ‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोचअनुरुप फागुनको समय राखेका हौँ ।’

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । 

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।  चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया