अरुण तेस्रोको बिजुली सात जिल्ला हुँदै भारत लगिने

 असोज २२, २०७५ सोमबार १४:२०:४० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — मुलुकको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत्त परियोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुदै भारत लगिने भएको छ ।

बहुचर्चित परियोजनाले संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहतरीबाट भारत पुर्‍याउने तयारी भएको सतलज कम्पनीले जनाएको छ । विद्युत्त उत्पादन स्थल दिदिङको पुखुवाबाट ट्रान्समिसन लाइन सिधैँ हाइटेन्सन भारत पुर्‍याइने तयारी भएको सतलज कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार, ट्रान्समिसन लाइनको नक्साकंन तयारी भए पनि हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरणको काम भने बाँकी रहेको छ । संखुवासभामा निर्माणधीन बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत परियोजनाको अहिले सडक निर्माण र स्तरोन्नती, ड्यामसाइड, पावरहाउस र सुरुङ मार्ग निर्माण लगायतको काम धमाधम भइरहेको छ ।

संखुवासभाको मकालु गाउँपालिकामा–५, नुमको फ्याक्सिन्दामा ड्यामसाइड निर्माण भइरहेको छ भने पावरहाउस चिचिला गाउँपालिका अन्तर्गत दिदिङको पुखुवामा निर्माण भइरहेको छ । ट्रान्समिसन लाइनले नेपालका ७ वटा जिल्लामा ५ सय १ टावर रहने नक्सांकन तयार भएको भारतीय सतलज कम्पनीका डयूटी जनरल मेनेजर विक्रम मोदगिलले बताउनुभयो । 

उहाँको अनुसार संखुवासभाका विभिन्न ठाउँमा ४३, भोजपुर ७९, खोटाङ ६५, उदयपुर एक सय ३०, सिराहा २६, धनुषामा ७२, मोहतरी ९५ वटा टावर निर्माण हुनेछन् । उदयपुर जिल्लामा सबैभन्दा धेरै टावर पर्ने भएकाले स्थानीय सरोकारावालाहरुबाट रुट परिवर्तनको माग समेत उठिरहेको छ ।

टावरमा पर्ने जग्गाको मुआब्जा दिने, अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको सतलज कम्पनीका मेनेजर मोदगिलले जानकारी दिनुभयो ।

संखुवासभा जिल्लामा झण्डै दुई अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले ड्यामसाइड, पावरहाउस, क्याम्प, अडिटर, सडकको मुख्य रूपमा मुआब्जा दिइसकेको भए पनि ट्रान्समिसन लाइनको मुआब्जा दिन बाँकी रहेको छ ।’

यसरी जान्छ भारत

ट्रान्समिसन लाइन संखुवासभा जिल्लाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयलेबेसी हुँदै भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका हुँदै खोटाङ पुग्ने नक्साकङन तयारी भएको कम्पनीले जनाएको छ ।

मोदगिलको अुनसार, खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै हलेसीको तुवाचुङ नगरपालिकको राजापानीबाट उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका, कटारी नगरपालिका हुँदै सिराहा पुग्नेछ । सिरहा पुगेपछि पूर्वपश्चिम राजमार्ग हुँदै महोतरीबाट ट्रान्समिसन लाइनको रुट भारत पुग्नेछ ।

जसमा उदयपुर जिल्लाको भागमा धेरै ट्रान्समिसन लाइनको एकसय ३० वटा टावरमध्ये अधिकांश घना बस्तीमा पर्ने भएकाले रुट परिवर्तनका लागि माग आइरहेको कम्पनीका मेनेजर मोदगिलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टावर अन्तर्गत पर्ने जग्गाको मुआब्जाको लागि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा र नेपाल विद्युत विकास बोर्डलाई जिम्मा दिएको छ । ट्रान्समिसन वा हाइटेन्सन लाइन अलाइनमेन्ट (रुट) मा पर्ने जग्गाको मुआब्जा दिने कामका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको छ ।’

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । उक्त बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ भने गएको वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्माले ओलीले नुमको फ्याक्सिन्दामा अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । त्यस यता सतलज कम्पतीले कामलाई तीब्रता दिएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया